सुकुमबासी भन्दै, जग्गा कब्जा गर्नेलाई प्रशासनले हटायो



कैलाली : टीकापुर नगरपालिका–९ पायलगाउँस्थित गोविन्द श्रेष्ठको जग्गा रातारात कब्जा गरी बसेका सुकुमबासीलाई बिहीबार प्रशासनले हटाएको छ ।

 

बुधवार राति जग्गा कब्जा गरी बसेका झण्डै डेढ सय जनालाई बिहीबार बिहान ८ बजे जिल्ला प्रशासन कार्यालय कैलालीको पहलमा हटाइएको हो ।

 

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले प्रहरी, सशस्त्र प्रहरी, टीकापुर नगरपालिकाका कार्यकारी अधिकृत लगायतको टोलीले जग्गा कब्जा गरी बसेकाहरुलाई हटाएको जानकारी दिए ।

 

जग्गा कब्जा गरी बसोबास गर्न खोज्नेहरुमा कालिकोट, दैलेख, अछाम, बाजुरा र सुर्खेतका व्यक्तिहरु रहेका प्रहरीले जनाएको छ । उनीहरु यसअघि टीकापुरको शक्तिनगरस्थित शिविरमा बस्दै आएका प्रहरीले बताएको छ । 

 

यसअघि कैलालीबाट जग्गा कब्जा सुरु गरेको तत्कालीन विद्रोही माओवादीले २०५६ सालमा नारायणपुरमा रहेको श्रेष्ठको सोही १४ बिघा जग्गा कब्जा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्