नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले सिरिज स्पेनमा हुने कुरा अगाडि बढेको जानकारी दिए । आईसीसीको आधिकारिक पत्र आउनेबित्तिकै सिरिज पक्का हुने उनले बताए ।
जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको हो । स्कटल्यान्डले स्पेनमा सिरिज गर्न पहल गरेको थियो । सिरिजका विषयमा स्पेनको लोकल गभर्मेन्टले पनि स्वीकृति दिइसकेको सचिव प्याकुरेलले बताए ।
‘स्पेनमा सिरिज गर्नका लागि धेरै आन्तरिक कुरा सकिसकेको छ । हामी केही कुराको छलफल अझै गरिरहेका छौँ । सिरिज स्पेनमा हुने पक्का नै छ । तर, आईसीसीको आधिकारीक पत्र कुर्न बाँकी छ,’ सचिव प्याकुरेलले बाह्रखरीसँग भने ।
लिगअन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपाल ४ खेलबाट ४ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ । ओमान १० खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलाबट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्