प्रभासकाे ‘साहो’मा सलमान खान पनि !



बहुचर्चित भारतीय अभिनेता प्रभास अभिनीत ‘साहो’मा सलमान खान पनि देखिने भएका छन्।  फिल्ममा सलमान अतिथि कलाकारका रुपमा प्रस्तुत हुने सम्भावना देखिएको छ। बलिउड सूत्रहरुका अनुसार सलमानलाई यसका लागि प्रस्ताव आएको छ। फिल्मको सुटिङ लगभग सकिएको छ। यदि सलमानले माने उनको रोल सुट गरी फिल्ममा जोडिइने छ।

सलमानलाई यस फिल्ममा अतिथिका लागि प्रस्ताव राख्न नील नितिन मुकेशले नै निर्मातालाई सुझाव दिएका थिए। नीलको प्रस्तावपछि ‘साहो’को टोलीले सलमानलाई प्रस्ताव गरेको हो। तर सलमानले यसबारे जवाफ दिइसकेका छैनन्। 

स्रोतका अनुसार नील नितिन मुकेश दबंग खानका धेरै नजिक छन्। उनीहरुले केही समयअघि ‘प्रेम रतन धन पायो’मा सँगै काम गरेका थिए। फिल्म आगामी अगस्ट १५ मा रिलिज हुँदै छ। हिन्दीका साथै तमिल र तेलेगु भाषामा पनि यसको डबिङ गरिएको छ।

फिल्ममा प्रभासको अपोजिटमा श्रद्धा कपुर देखिँदै छिन्। फिल्मका निर्देशक सुजिथ हुन्। फिल्मको लागत साढे २ सय करोड रहेको छ भने फिल्मलाई टी–सिरिज, धर्मा प्रोडक्सनले निमार्ण गरेका हुन्। यी दुईका अलावा नील नितिन मुकेश, जैकी श्राफ, चंकी पाण्डे, मंजेरकर, अरुण विजयलगायतको फिल्ममा अभिनय छ।

प्रतिक्रिया दिनुहोस्