प्रदेश दुई : कांग्रेस र माओवादीसँग सत्ता सहकार्य गर्दै जसपा, नवनियुक्त मन्त्रीको शपथ आज



काठमाडौँ : जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष), नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यका लागि सहमति भएको छ । सहमतिसँगै अब प्रदेश २ मा जसपा (यादव पक्ष) नेतृत्वको सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी हुने निश्चित भएको छ ।

हिजो भएको सहमति अनुसार कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन् । प्रदेश २ सरकारमा १० वटा मन्त्रालय रहनेछन् । त्यसमध्ये पाँचवटा मन्त्रालय जसपाले राख्ने र बाँकी पाँच वटामा तीनवटा काँग्रेस र दुईवटा माओवादी केन्द्रले लिने सहमति भएको जसपा नेपाल प्रदेश २ का एक प्रदेशसभा सदस्यले जानकारी गराए ।

जसपा उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट निलम्बन गरेपछि कांग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य गरेको हो ।

आजै साँझमा नवनियुक्त मन्त्रीको शपथ हुने बताइएको छ । स्रोतका अनुसार कांग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ ।

यसअघि मन्त्रालयलगायतका विषयमा कांग्रेससँग विभिन्न चरण छलछल भएपनि ठोस सहमति हुन सकेको थिएन । जसपाभित्र विवाद बढेपछि प्रदेश सरकारलाई सुरक्षित राखिराख्न यादवले कांग्रेस र माओवादीसँग सहकार्यको हात बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्