यहि वर्ष भदौमा महाधिवेशन हुन्छ : देउवा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस वर्ष भदौमै महाधिवेशन हुने दाबी गरेका छन् ।
बुधबार विज्ञप्ती जारी गर्दै उनले भदौ महिनामै पार्टीको १४ औं महाधिवेशन गर्ने दाबी गरे ।
‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नुपरेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु–२०७८ साल भदौ महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु’, देउवाले विज्ञप्तीमा भनेका छन् ।
सभापति देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको पनि उल्लेख गरेका छन् । उनले महाधिवेशन पार्टीको जीवन्तताको लागि महायज्ञ भएको पनि बताएका छन् ।
देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कांग्रेसमा आउँदो भदौमा तोकिएको महाधिवेशन हुने कि नहुने भन्ने अन्योल भइरहेका बेला देउवाले जसरी पनि महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो’ उनले भनेका छन् ।
असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उनले बताएका छन् ।
‘पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन् देउवाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्