प्रदेश १, गण्डकी, प्रदेश २, सुदूरपश्चिम र लुम्बिनीको बजेट प्रस्तुत



विराटनगर । प्रदेश १, गण्डकी, प्रदेश २, सुदूरपश्चिम र लुम्बिनी सरकारहरुले बुधबार आ-आफनो प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको छ । प्रदेश १ ले ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ भने गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको हो ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३ दशमलव ६ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत विनियोजन गरेका हुन् ।
स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ३ अर्ब रहेको उनले बताए । बजेटको स्रोततर्फ आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ८१ करोड ६६ लाख अनुमान गरिएको आङ्बुहाङले बताए ।
यस्तै, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख, समपुरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख र विशेष अनुदानबाट ५९ करोड ३३ लाख गरी राजश्व तथा वित्तीय हस्तान्तरणबाट कूल ३० अर्ब २० करोड ७९ लाख खर्च व्यहोरिनेछ । बाँकी अपुग रकम चालू आर्थिक वर्षको रहन गएको नगद मौज्दातबाट २ अर्ब र वैदेशिक अनुदानबाट २६ करोड १३ लाख व्यहोरिने उनले बताए ।
प्रादेशिक तथा जिल्ला अस्पतालहरुको स्तरोन्नतिका साथै खोपलगायतको प्रदेशबासीको स्वास्थ्योपचारका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ ।
जसमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालुतर्फ रहेको छ ।
कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८÷७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गरेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा बजेट पेस गरेका हुन् । यसैगरी बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको निःशुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र जेष्ठ नागरिकलाई पनि संबोधन गरेको छ । पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।
लुम्बिनीमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नती गर्न २५ करोड रकम विनियोजन गरेको छ ।
लुम्बिनी प्रदेश सभामा आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशका चार कोभिड उपचार अस्पताललाई प्रयाप्त बजेट विनियोजन गरिएको बताए ।
बजेट सार्वजनिक गर्दै उनले डीपीआर सम्पन्न भएका अस्पतालालाई आगामी आर्थिक वर्षमा निर्माण सुरु गर्न आवश्यक बजेट विनियोजन गरेको बताए । त्यस्तै जिल्ला स्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड बिरामीको निःशुल्क उपचार गर्ने र स्तरीकरणका लागि बजेट विनियोजन गरिएको बताए ।
आर्थिक मन्त्री चौधरीले कोभिड–१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरुको तलब स्केलमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको बताए ।

प्रदेश २ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट
प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन्। बजेटमा वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा १ अर्ब आन्तरिक ऋण परिचालन गरिने मन्त्री यादवले बताए । उनले कोभिड–१९ केन्द्रित बजेट ल्याएको भन्दै जनताको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
अगामी आर्थिक वर्षमा पनि प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ । सो कार्यक्रमका लागि २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहका लागि ३ अर्ब १६ करोड ५० लाख छुट्याइएको मन्त्री यादवले बताए ।

सुदूरपश्चिममा ३० अर्ब ३३ करोडको बजेट
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् ।
बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री शाहले चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको बताएका छन् । चालुतर्फ चालु आर्थिक वर्षको तुलनामा ४ अर्ब बजेट घटाइएको छ भने पुँजीगतर्फ झण्डै एक अर्बले वृद्धि भएको छ ।
मन्त्री शाहले अगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा सुधार तथा विस्तार र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताएका छन् ।
उनले अगामी वर्षलाई अस्पताल स्तरोन्नती तथा सेवा विस्तार सुधार वर्षका रुपमा मनाउँदै पूर्वाधार विकासका लागि २ अर्ब ५८ लाख बजेट विनियोजन गरेको बताए ।

यस्तै भौतिक पूर्वाधारतर्फ प्रदेश गौरवका सडक निर्माण, ठूला पूर्वाधार र रुपान्तरणकारी योजनालाई अगामी वर्षमा निरन्तरता दिने गरी ५ अर्ब १२ करोड बजेट विनियोजन गरेको बताए ।

लुम्बिनीमा ४० अर्ब ९५ करोडको बजेट
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार विनियोजन गरिएको छ । आगामी आवको बजेट चालु आवको भन्दा साढे ३ अर्बभन्दा बढी हो । आर्थिक वर्ष २०७८/७९ मा ३७ अर्ब ३५ करोडको बजेट थियो ।
बजेटमा स्वास्थ्य, कृषि, रोजगारी वृद्धि र आर्थिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राखिएको छ । महत्वाकांक्षी र नयाँ योजना समावेश नगरिएको बजेटमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, स्मार्ट कृषि गाउँ लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरी उपत्यका क्षेत्रमा राजधानीको गुरुयोजना, जग्गा प्राप्ति, ल्याण्ड पुलिङ, पूर्वाधार निर्माण लगायतका काम गर्न पनि बजेट छुट्टाइएको छ ।

प्रतिक्रिया दिनुहोस्