मानसरोवर जाने तीर्थयात्रीबाट हुम्लामा उठ्यो ८ लाख राजस्व 



हुम्ला : कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ। हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै बर्सेनि हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्छन्।  

पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए। शनिबारदेखि बिहीबारसम्म नेपालगञ्ज हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३३२ महिला र ४०१ पुरुष गरी ७३३ भारतीय तीर्थयात्री हुम्ला पुगेका छन्।  

सिमकोट गाउँपालिकाले गएको वर्षदेखि हुम्लाको सिमकोट हुँदै हिल्सा नाका पार गर्ने तीर्थयात्री र बाह्य पर्यटकबाट प्रतिव्यक्ति १ हजार १०० रुपैयाँ उठाउने गरेको छ।

छ दिनमा हुम्ला भित्रिएका ७३३ भारतीय पर्यटकबाट सिमकोट गाउँपालिकाले ८ लाख ६ हजार ३०० रुपैयाँ राजस्व संकलन गरेको सिमकोट गाउँपालिकाबाट विमानस्थलमा राजश्व संकलन गरिरहेका दीपेन्द्र भण्डारीले जानकारी दिए।

भारतीय तीर्थयात्री सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गराउने जिम्मा लिएको ट्राभल एजेन्सीले अहिले पैसा नदिएको तर आठ लाखभन्दा बढी राजश्व संकलन भएको भण्डारीले बताए।   गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजस्व गाउँपालिकामा लगानी गर्ने जानकारी दिएको छ।

सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजश्व ६०–४० गरेर दुई गाउँपालिकाले रकम बाँडफाँड गर्ने निर्णय भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए। दर्जीका अनुसार बाह्य पर्यटकबाट उठेको राजश्व रकमबाट ६० प्रतिशत पाउने भएको छ भने नाम्खा गाउँपालिकाले ४० प्रतिशत राजश्व पाउने भएको हो। 

प्रतिक्रिया दिनुहोस्