शास्त्रार्थ



–लोकनाथ वर्मा

कुनै गाउँमा एउटा बाहुनको परिवार बस्दथ्यो । त्यस परिवारमा दुई भाइ थिए । ठूलो (दाजु) चाहीँ पढे–लेखेकाले पण्डित्याइँ गर्थे, तर सानो भाइ (कान्छो) को पढ्न–लेख्नमा ध्यान जाँदैनथ्यो । त्यसकारण उसले घाँस काटेर गाईको दाना–भूस–सानी–पानी गर्नु प-थ्याे ।

कान्छो भाइलाई छोटकऊ महाराज र दाइलाई चाहीँ बडकऊ महाराज भनिन्थ्यो । बडकऊ महाराज महान ज्ञानी–ध्यानी थिए । बडकऊ महाराज उपलब्ध भएसम्म कुनै अर्को महाराजलाई पण्डित्याइँ गर्न जजमानहरूले बोलाउँदैनथे । नुहाई–धोई पूजापाठ गरेर बडकऊ महाराज जजमानी गर्न निस्किन्थे । बेलुका मात्र घर फर्कन्थे । कहिलेकाहीँ अबेला भए जजमानकहाँ नै रात बिताउँथे । दुई भाइ दुई किसिमको काम गर्थे, तर आपसमा कहिल्यै पनि गालीगलौज र झगडा गरागर भएको थिएन । गाउँमा झगडा हुँदा पनि मध्यस्थकर्ताहरूले झगडियाबीच सम्झौता गराउँदा दुवै भाइलाई राम–लक्ष्मणको जोडीका रुपमा प्रस्तुत गरेर शान्त पार्थे ।

छोटकऊ महाराज घाँस काट्न गएका बेला अरु घाँस काट्नेहरू पनि उनकै पछिपछि लाग्थे । छोटकऊ महाराज राम्रो नाच्ने गाउने गर्थे । उनी गीत गाउँदै घाँस काट्ने गर्थे र मन तरंगित हुँदा हातमा खुर्पा समाति नाच्न सुरु गर्न पनि बेर लगाउँदैनथे । अन्य घाँसीहरू वाह महाराज, वाह महाराज क्या राम्रो भनेर ताली बजाउने गर्थे ।

एक दिन छोटकऊ महाराज खेतमा नाचिरहेका थिए, एउटा सफेडा मण्डली (नाट्य मण्डली)को आँखा उनीमाथि प-यो । नाट्य मण्डलीका मानिसहरूले उनका नजिक गएर भने, ‘तपाईं एकदमै राम्रो नाच्ने–गाउने गर्नु हुँदोरहेछ । हाम्रो नृत्य मण्डलीमा भर्ना हुनुहोस् । जब कहीँ अनुबन्ध गरिन्छ, त्यसबेला आउनु होला । बाँडफाँड गर्दा जति तपाईंको भागमा पर्छ, त्यति पाउनु हुन्छ ।’

महाराज सफेडामा भर्ती भए । सामान्य कद, गहुँगोरो रंग, लामालामा कपाल, दा-हीजुँगा केही पनि नभएका हेर्दा क्यालेन्डरमा तस्बिर छापिएका देवताझैं लाग्थे र जुन बेला उनी मञ्चमा नाच्न सुरु गर्थे, लाग्थ्यो मयूर नाचिरहेको छ । उनी घाँस काट्नुका साथै सफेडाको काम पनि गर्न थाले । छोटकऊ महाराजको नाच हेर्न टाढा–टाढाबाट पनि मानिसहरू आउन थाले । दिन राम्ररी बित्न थाल्यो ।

एकदिन बडकऊ महाराजलाई टाढाको गाउँबाट निम्तो आयो । महाराजलाई जानु प¥यो । मित्र र शत्रु सबैका हुन्छन् । बडकऊ महाराजको पनि एक जना शत्रु जन्मिसकेको थियो । महाराज जजमान कहाँ पुग्दा त्यहाँ उनले एउटा ठूलो भुँडी भएको मान्छे कपाल मुडाएर नाकदेखि आधी टाउकोसम्म सेतो र पहेँलो रंगको त्रिपुण्ड लगाएर बसेको देखे । बडकऊ महाराजले उनीसँग सोधे, ‘जजमान कहाँ गए ? मलाई किन बोलाएका हुन् ?’

त्रिपुण्डी महाराजले भने, ‘यहाँ जजमान–सजमान कोही छैन । तिमीलाई मैले नै बोलाएको हुँ ।’

‘किन बोलाउनु भयो महाराज ? मबाट केही गल्ती भयो कि ?’, बडकऊ महाराजले सोधे ।

‘होइन, तिमीबाट कुनै गल्ती भएको छैन, तर तिम्रो नाम अति नै फैलिएको छ । अब तिमीले मसँग शास्त्रार्थ गर्नुपर्छ,’ त्रिपुण्डी महाराजले हाँसेर भने । त्यसपछि थपे, ‘यदि मैले जितें भने तिम्रो लुगाफाटो, पोथीपात्रो सबै म लिन्छु, यदि तिमीले जित्यौ भने मेरो सबै जायजेथा तिम्रो हुन्छ । यही शास्त्रार्थको शर्त हो ।’

‘तर म शास्त्रार्थ गर्न चाहन्नँ,’ बडकऊ महाराजले खिन्न भएर भने ।

‘ठीक छ, त्यसो हो भने हार मान्नुस् । जेजे तपाईंसँग छ, मलाई दिनुस् र लिनुस् यो लगौटी लगाएर आफ्नो घर जानुस्,’ त्रिपुण्डी महाराजले हाँसेर भने ।

बडकऊ महाराजले सोचे– हार मान्नुभन्दा त शास्त्रार्थ गर्नु नै ठीक छ । उनले भने, ‘ठीक छ, तपाईंको सर्त मन्जुर छ । तर शास्त्रार्थ कहिले हुन्छ र हारजीतको निर्णय कसले गर्छ ?’

‘शास्त्रार्थ भोलि बिहान १० बजे हुन्छ । हारजीतको निर्णय गाउँका मुखियाले गर्नेछन् । उनका साथै गाउँका अरु ठूलाठालूहरू पनि हुनेछन् । भलामानिसहरूले निर्णय गर्नेछन् । आज राति मेरो पाहुना भएर बस्नुस्, बिहान देखा जाला,’ त्रिपुण्डी महाराजले भने ।

त्रिपुण्डी महाराजले बिहानै यो खबर गाउँमा फिँजाए । १० बजे शास्त्रार्थ हुने भयो । सबै शास्त्रार्थ सुन्न मन्दिरको सामुन्नेका चौरमा आउने भए ।

१० बजेभन्दा पहिले नै मानिसहरू आउन थाले । मन्दिरको सामुन्नेको चौरमा हेर्दाहेर्दै सबै एकत्रित भए । मुखियाजी पनि आए, उनका साथमा केही भलादमीहरू पनि आए । चौर खचाखच भरिएको थियो । लाग्थ्यो मेला लागेको छ ।

त्रिपुण्डी महाराजले आफ्नो हात उठाएर जोडले भने, ‘मुखयाजी, भाइहरू, युवा, वृद्ध तथा बालबालिकाहरू सबै सुन्नुस् । अब म शास्त्रार्थको प्रश्न गर्न गइरहेको छु । निर्णय तपाईंहरूले गर्नुहोला । ल त महाराज,’ बडकऊतिर हेरेर त्रिपुण्डी महाराजले सोधे, ‘भन्नुस्, वेद कतिवटा हुन्छन् ?’

बडकऊ महाराजले हाँसेर भने, ‘यति पनि थाहा छैन, वेद चारवटा हुन्छन्– सामवेद, अथर्ववेद, ऋग्वेद र यर्जुवेद ।’

‘यिनले पनि त्यही भनिरहेका छन्, जुन अरु पण्डितहरूले भन्छन् । यिनलाई के पनि थाहा रहेनछ भने विना लोग्ने स्वास्नीको र विना स्वास्नी लोग्नेको जीवन अपूरो हुन्छ । जब चार वेद छन् भने उनीहरूको चारवटी श्रीमती पनि छन् होला । चार वेदको चारवटा वेदी अर्थात वेद आठ हुन्छन् । ठीक छ होइन, भाइहरू ?’

‘हो अरु के ? आठ वेद त हुन्छन् नै । जहाँ वेद हुन्छन्, त्यहाँ वेदी त अवश्य नै हुन्छन्,’ मुखियाजीका साथै अरुहरूले पनि भन्न थाले, ‘भला तपाईंसँग यिनी कसरी जित्न सक्छन् ? यिनलाई त केही थाहा नै रहेनछ । तपाईंले जित्नु भो, महाराज जित्नु भो ।’

बडकउ महाराजले सोचे– यहाँ साँचो कुरा सुन्ने कोही छैन । मैले समपनामा पनि सोचेको थिइँन कि यसप्रकारको पनि शास्त्रार्थ हुन्छ भनेर ।

‘लिनुस् लगौटी (कोपिन) लगाउनुस् र पात्रो–पोथी छाडेर भाग्नुस्,’ एउटा भीमकाय शरीर भएको मानिसले बडकऊ महाराजलाई लगौटी दिँदै भन्यो ।

कुर्ताधोती खोसिएपछि लगौटी लगाएका बडकऊ महाराजले सोचे– दिउँसो नांगै हिँड्नु ठीक छैन । रात पर्ला अनि हिँडौंला । त्यसो गर्दा परिचितको आँखा ममाथि पर्न पाउँदैन । दिनभरि बडकऊ महाराज झाडीहरूमा लुकेर बस्थे र रातमा हिँड्थे । त्यसो गर्दागर्दै बल्ला तेस्रो दिन बिहानीपख उनी घर पुगे र छोटकऊ महाराजलाई बोलाए ।

छोटकऊ महाराजले ढोका खोलेर हेर्छन् त बडकऊ महाराज उभिएका छन्, तर हुलिया एकदमै परिवर्तित छ । कहाँ धोतीकुर्ता र मयलपोस र कहाँ मात्र एउटा कोपिन (लगौटी) । के दुःख प-यो दाइमाथि ? मनमनै गन्थन गर्दै सोधे, ‘दाइ, यो के भयो ? लुगाफाटो के भयो ? के बाटोमा चोर डाकाहरूसँग त भेट भएन ? पोथीपात्रोको झोला पनि देखिँदैन । अम्खोरा र डोरी पनि छैन ।’

‘यसो गर, घरभित्रबाट मेरो धोती र मयलपोस लिएर आऊ । बाल्टिन र अम्खोरा पनि लिएर आऊ । म नुहाईधोई गरेर मानिस जस्तो होऊँ, अनि बताउँछु । हेर्नु मेरो बारेमा आइमाईहरूलाई थाहा नहोस्, नत्र थरिथरिका प्रश्न गर्छन् ?’

नुहाईधोई पूजापाठ गरेर महाराज जब चौकीमा बसे अनि छोटकऊ महाराजलाई सारा वृत्तान्त सुनाए । छोटकऊ महाराजले हाँसेर भने, ‘दाइ, तपाईं आराम गर्नुहोस् । त्रिपुण्डी महाराजसित शास्त्रार्थ गर्न म जान्छु र कस्तो शास्त्रार्थ गर्नेछु भने उनी जीवनभर याद गर्नेछन् । अब म तयारी गर्न जान्छु ।’

उनले गाउँभरिका च्यातिएका लुगाफाटो, बोरा, तार, कागज, टपरी, कीला आदि दुई बोरामा भरेर पुस्तकजस्तो बनाई एउटा गधामाथि लादे । टाउकाको चारैतिरको कपाल कटाएर खुब मोटो टुप्पी बनाए । त्यसपछि सुरुवालमा हाल्ने इँजारको जनै र नाकदेखि टुप्पीसम्म सेतो र पहेंलो श्रीखण्डको एकदमै गहिरो त्रिपुण्ड लगाएर हिँडे । सफेडामा काम गर्नेहरू त स्वाङ पार्न एकदमै सिपालु हुन्छन् । उनलाई देख्ने कुनै पनि व्यक्तिले यी छोटकऊ महाराज हुन् भनेर भन्न सक्दैनथ्यो । रातभर हिँडेर त्रिपुण्डी महाराजका गाउँको मुखियाको घर सोध्दै बिहान त्यहाँ पुगे ।

मुखियाजी त्यति ठूलो पण्डितलाई देखेर अत्यन्त नै हर्षित भए र भने, ‘मेरो धन्य भाग्य महाराज, दर्शन दिनु भयो, आसन ग्रहण गर्नुहोस् ।’ अनि छोटकऊ महाराजको सेवामा जुटिहाले । कसैलाई भने जा बाल्टी भरेर ल्याइहाल महाराजले स्नान गर्नुहुन्छ । कसैलाई हलुवा बनाउन लगाए, कसैलाई दूध उमालेर ल्याउन र ठूलो चौकीमाथि महाराजको आसन लगाउन लगाए।

छोटकऊ महाराज मनमनै सोचिरहेका थिए– यो विधामा पनि अत्यन्त नै मजा छ । खुब खानपिन गर्न पाइन्छ । मुखियाजीले छोटकऊ महाराजतिर हेर्दै भने, ‘महाराज हजुरले हाम्रा त्रिपुण्डी महाराजसँग अवश्य नै शास्त्रार्थ गर्नुहोस् । मलाई विश्वास छ, हजुर उहाँभन्दा कम ज्ञानी हुनुहुन्न । तपाईं पनि धेरै पढेलेखेको हुनुहुन्छ ।’

छोटकऊ महाराजले भने, ‘हो, हो ठीक छ । ज्ञानी को छ यो त शास्त्रार्थ भएपछि नै थाहा हुन्छ, तर म पनि पढेलेखेको छु । हेर्नुहोस् न, एक भारी पोथीहरू त गधामा लादेर हिँड्छु । थाहै हुँदैन कुन पोथी कहिले बाँच्नु पर्छ, सीधा बनारसबाट आइरहेको छु ।’

(यो अवधी लोककथा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘सयपत्री’ को अवधी लोककथा अंक ..मा प्रकाशित छ।)

सधैं त्रिपुण्डी महाराजले सबैलाई शास्त्रार्थ गर्न बोलाउँथे, आज मुखियाजीले आफैं चौकीदारलाई बोलाएर भने, ‘जा गाउँभरि सबैलाई भनिदे । बनारसबाट एक जना एकदमै ठूलो ज्ञानी महाराज आउनु भएको छ । आज १० बजे उनीसित त्रिपुण्डी महाराजको शास्त्रार्थ हुन्छ । सुन्, त्रिपुण्डी महाराजलाई पनि के भनिदिनु भने १ण् बजे मन्दिरको चौरमा जसरी भए पनि आइपुगुन् ।’

मन्दिर सामुन्नेको चौर १० नबज्दै मानिसहरूले भरिन थाल्यो । हेर्दाहेर्दै मैदान खचाखच भरियो । त्रिपुण्डी महाराज पनि आए तर गधाले बोकेका पोथी देखेर डराए । सोच्न थाले, कतै मलाई पनि हराउने त होइन । शास्त्रार्थ नगरौं भने हार मान्नुपर्छ (लगौटी–कोपिन) लगाउनु पर्छ ।

मुखियाजी खडा बभएर बोल्न थाले, ‘हेर्नुहोस् भाइबहिनीहरू, वृद्धवृद्धाहरू, बालबालिकाहरू सबै सुन्नुहोस्। हाम्रा त्रिपुण्डी महाराजसँग आजसम्म कुनै पण्डित शास्त्रार्थमा जितेर जानु भएको छैन । आज टक्कर बनारसका महाराजसँग छ । यी महाराज पनि धेरै पढेलेखेका छन् । जहाँ जान्छन्, एक गधा पोथी लिएर जान्छन् । तर हुन सक्छ यिनी पनि हारिहालुन् । अब शास्त्रार्थ सुरु गरौं । लौ त, त्रिपुण्डी महाराज शास्त्रार्थ गर्नुहोस् ।’

छोटकऊ महाराजले उभिएर भने, ‘शास्त्रार्थ गर्नमा मेरो कुनै विरोध छैन, तर शास्त्रार्थ सुरु गर्नुभन्दा पहिले सर्तनामा लेखिनु जरुरी छ । त्यो सर्तनामामा कुन कुरा खोलियोस् भने यदि त्रिपुण्डी महाराजले जिते भने उनले मेरो गधाले बोकेको पोथी लिउन् र उनले जे भनुन् त्यो मैले र तपाईंहरूले मान्नुपर्छ । तर यदि कतै मैले जितें भने उनको घर, मालसामान, जायजेथा सबै मेरो होओस् र मैले जे भन्छु, त्यो उनले र तपाईंहरूले मान्नुपर्छ ।’

लेखापढीको काम सिद्धियो । दुवै महाराजले सहीछाप पनि गरे ।

जब प्रश्न गर्ने कुरा उठ्यो तब छोटकऊ महाराजले त्रिपुण्डी महाराजलाई प्रश्न सोध्ने मौका भेट्टाए, ‘वेद कति वटा हुन्छन् ?’ त्रिपुण्डी महाराजले भने, ‘वेद आठवटा हुन्छन् ।’

‘त्यो कसरी ? राम्ररी बुझाएर भन्नुहोस्’, छोटकऊ महाराजले जोरसित भने ।

‘चार वेद र चार वेदका श्रीमतीहरू मिलेर आठ हुन्छ, चाहे आफैं गन्ती गरिहाल्नु होस्’, त्रिपुण्डी महाराजले उत्तर दिए ।

‘हो, यो तपाईंको हिसाबले होला, तर शास्त्रको हिसाबले त धेरै हुन्छन्,’ छोटकऊ महाराजले त्यति भनेर मुखियाजीतिर हेर्न थाले ।

‘कसरी मुखिया काका ? यी महाराजले त धेरै भनिरहेका छन् । के त्रिपुण्डी महाराजले हामीलाई मूर्ख बनाइरहेका थिए त ?’ एउटा गाउँलेले मुखियाजीसँग बिस्तारै सोध्यो ।

‘भाइहरू, यो भन्नुहोस् । तपाईंहरूले बिहे गर्नु भएको छ कि छैन ?’ छोटकऊ महाराजले सबैतिर घुमेर सोधे ।

‘हो, मेरो त बिहे भएको छ, छोराछोरी पनि छन्,’ मुखियाजीले नै सबैभन्दा पहिले भन्न पुगे।

‘हो, म यही भन्न चाहन्छु । बिहे भएपछि लोग्ने स्वास्नी हुन्छन्, त्यसपछि छोराछोरी हुन्छन् नै । सामवेदको श्रीमती सामवेदी । उनले पाइन् एक लेदा एक लेदी अर्थात् एक छोरा एक छोरी । याद गरी राख्नुहोस्, चार भयो । अथर्ववेदकी वेदीले पाइन्, एक लेदा एक लेदी, आठ भयो । यर्जुवेदकी वेदीले पनि पाइन् एक लेदा एक लेदी, बाह्र भयो । त्यही किसिमले अन्तिम वेद वेदीले पनि पाए एक लेदा एक लेदी । सोह्र भयो कि भएन ?’

‘भयो, भयो,’ चारैतिरबाट आवाज आयो, ‘त्रिपुण्डी महाराज हारे । त्रिपुण्डी महाराज उफ्रँदै छोटकऊ महाराजको खुट्टामा लम्पसार परेर भने, ‘मेरो जिन्दगी अब तपाईंको हातमा छ, सबैथोक गर्नुहोस् तर लगौटी नलगाइदिनुहोला ।’

छोटकऊ महाराजले उनको कुरामा कुनै ध्यान नदिएर जोरसँग बोले, ‘सुन्नुहोस्,’ औंलामा केही हिसाब गरेर भने, ‘यस किसिमको योग (साइत) धेरै वर्षपछि आउँछ । शास्त्रको योगले के भनिरहेको छ भने त्रिपुण्डी महाराजको शरीरको रौं, जहाँको भए पनि एउटा केश भए पनि ताबीजमा राखेर साँझसम्म बालबालिकाहरूलाई लगाइएमा उनीहरूलाई भूतप्रेत, टुनामुना, आपतविपत केहीको असर पर्दैन । जीवनभर झारफूक गराउनु पर्दैन ।’

हेर्दाहेर्दै सबैले त्रिपुण्डी महाराजलाई लडाएर उनको दारी, जुँगा, कपालको रौं सबै उखेले । जुन व्यक्तिहरू अबेला आइपुगे, उनीहरूले त्रिपुण्डी महाराजलाई नांगै पारेर जसले जहाँ पाए त्यहींका रौं उखेलेर हिँडे।

छोटकऊ महाराज त्रिपुण्डी महाराजको सबै मालसामान, लत्ताकपडा, भाँडाकुँडा जे जे थियो, सबै मुखियाजीको गोरुगाडामा लदाएर हिँड्ने तयारी गर्दै थिए।

त्यस बेला मुखियाजीले हात जोडेर भने, ‘महाराज, आजको रात सेवा गर्ने मौका मलाई दिनुहोस् । तपाईंजस्तो ज्ञानी ध्यानी महात्मा कहाँ मिल्छन् ? मेरो जन्म सफल पारिदिनुहोस् ।’

‘मुखियाजी, चिनाजानी भएपछि आउनुजानु त हुन्छ नै । तर भोलि दिउँसोसम्ममा मलाई घर पुग्न एकदमै जरुरी छ, नत्र अनिष्ठ भइहाल्छ । रातिको अनुष्ठान बिग्रेर जान्छ,’ छोटकऊ महाराजले त्यसो भने । उनी मनमनै सोचिरहेका थिए– घर पुगें भने बेलुका सफेडामा हाजिर पनि हुन सक्छु ।

प्रतिक्रिया दिनुहोस्