पिता धर्मेन्द्रको घर जान ईशालाई ३४ वर्ष



मुम्बई : आफ्नो पिता अभिनेता धर्मेन्द्रको घर जान ईशा देओललाई ३४ वर्ष लागेको खुलासा भएको छ । ईशा देओल धर्मेन्द्रकी कान्छी पत्नी हेमा मालिनीकी छोरी हुन् । कान्छीको रूपमा भित्रिएपछि हेमा छुट्टै फ्ल्याटमा बस्दै आएकी थिइन् । सौतेला दाजु सनी देओलले बहिनी ईशालाई घर ल्याउन चाँजोपाँजो मिलाएका थिए ।

धर्मेन्द्रका जेठा छोरा सनी देओल अहिले अभिनेताबाट नेता भएका छन् । उनले हालै भएको लोकसभाको निर्वाचनमा गुरदासपुर क्षेत्रबाट विजयी भएका छन् । जितको खुसीयालीमा ईशाले ट्विट गर्दै सनीलाई बधाई दिएकी छिन् । त्यसो त हेमाले पनि मथुरा क्षेत्रबाट लोकसभाको निर्वाचनमा दोस्रो पटक जितेकी छिन् ।

सनी देओलको आफ्नी सानी आमा हेमा र सौतेली बहिनीहरूसँग सम्बन्ध राम्रो नभएको बताइन्छ । तर समयक्रममा उनले रिस बिर्सिए । रामकमल मुखर्जीको पुस्तक ‘हेमा मालिनी : बियोन्ड द ड्रिम गर्ल’ मा सन् २०१५ मा मात्रै ईशाले पिताको पुख्र्यौली घर टेकेको भनिएको छ । त्यसबेला उनी ठूलीआमा प्रकाश कौरसँग पनि भलाकुसारी गरिन् । परिवारका एक सदस्य गम्भीर बिरामी भएपछि भेटघाटको लागि समय जुरेको थियो ।

हेमा मालिनी भने धर्मेन्द्रको पुख्र्यौली घरमा अझैसम्म नगएको बताइन्छ । जबकि एलेभेन रोड हाउसस्थित हेमाको फ्ल्याट र धर्मेन्द्रको पुख्र्यौली घरको दूरी जम्मा पाँच मिनेटको छ । ईशा देओललाई पाँच मिनेटको दूरी पार गर्न ३४ वर्ष लाग्यो । ईशाको जन्म सन् १९८१ मा भएको थियो । तिनी २०१५ मा मात्रै पिताको घर गएकी थिइन् । ईशा देओलले ‘किल दैम यंग’, ‘केकवाक’लगायत केही सिनेमामा अभिनय गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्