नेपाल–भारत सुरक्षा सम्बद्ध द्विपक्षीय बैठक



रौतहट । नेपाल र भारतबीच सुरक्षा सम्बद्ध द्विपक्षीय बैठक सम्पन्न भएको छ ।
भारतको सीतामढी जिल्लाको सीतामढी समाहरणनालयमा भएको बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहभागी भएका थिए ।
बैठकमा दुई जिल्लाका सुरक्षा सम्बद्ध प्रमुखहरुको पनि सहभागिता थियो । बैठकमा द्विपक्षीय सुरक्षा सम्बद्ध विविध मुद्दाहरुको बारेमा आपसी समन्वय अभिवृद्धि गर्ने सम्बन्धी अनौपचारिक छलफल भएको प्रजिअ यादवले जानकारी दिए ।
सीमा सम्बद्ध समसामयिक सवालहरु अपराधी भागेर लुक्ने, अवैध ओसार पसार, तस्करी, लागूऔषध, मदिरालगायतकालाई नियन्त्रण गर्नुपर्ने विषयमा विस्तृत छलफल भएको छ । यसैगरि, गौर नगरपालिका ४ स्थित टिकुलियानजिक बकैया नदीको पूर्वी बाँधको दशगजा क्षेत्रमा मर्मत गर्न सहयोग गरेकोमा प्रजिअ यादवले धन्यवाद गर्दै भारतीय बाँधमा रहेको सुलिस गेट, पानीको प्राकृतिक बहावको लागि आवश्यकता अनुसार परिचालन गर्ने विषयमा पनि छलफल भएको हो ।
कोभिड–१९ को दोस्रो लहरमा नेपाल र भारतका सीमावर्ती नागरिकहरुको आवतजावत प्रभावित भएको सन्दर्भलाई सम्बोधन गर्न दुवैतिरका स्थानीयवासीको माग आवागमन सुचारु हुनुपर्ने मागलाई पनि दुई पक्षीय अनौपचारिक वार्तामा छलफल भएको छ । गौर–बैरगनिया नाकाबाट आवागमनलाई निरन्तरता दिन आवश्यक सहजीकरण गर्ने र आवश्यकतानुसार द्विपक्षीय रुपमा निरन्तर सम्पर्कमा रहने गरी सकारात्मक छलफल भएको प्रजिअ यादवले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्