मोटरसाइकलमा बसिरहेको अवस्थामा एक जनाको शव भेटियो



विराटनगर । विराटनगरको भृकुटी चौकमा पार्किङ्ग गरि राखेको मोटरसाइकलमा एकजना मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका ५ स्थित चौक नजिक सोमबार राति करिब ८ बजे ६७ वर्षीय सुदर्शन शर्मा न्यौपाने मृत अवस्थामा फेला परेका हुन्।

मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले पार्किङ्ग गरि राखेको को ४ प २३१६ नम्बरको मोटरसाइकलमा चढिरहेको अवस्थामा मुनालपथका न्यौपानेको शव फेला परेको हो। प्रहरी प्रमुख जिसीका अनुसार स्वास्थ्यमा कुनै समस्या आएर आराम गर्ने क्रममा मोटरसाइकलमाथि नै मृत्यु भएको हो कि भन्ने आशङ्का छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल मृतक न्यौपानेको नै रहेकाे खुलेको छ। घटनापछि प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पताल पुर्‍याएकाे छ।

प्रतिक्रिया दिनुहोस्