पिपिएलः काठमाडौंले बुटवललाई हरायो, दोस्रो चरण समिकरण रोमाञ्चक अवस्थामा



पोखरा : पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको छ । 

काठमाडौंले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन मात्र जोड्न सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको थियो । 

यो सँगै काठमाडौं ४ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको धनगढी ब्लुजको पनि समान ६ अंक छ। पोखरा पल्टन, चितवन राइनोज र बुटवलको समान ४–४ अंक छ । यसर्थ अन्तिम दिन हुने लिग चरणको २ खेलबाट दोस्रो चरणमा पुग्ने ३ टिमको टुंगो लाग्नेछ । 

लिगको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो हुने टिम इलिमिनेटका लागि प्रतिस्पर्धा गर्नेछन् भने पुछारका ३ टिम बाहिरिनेछन् । 

समूह चरणको अन्तिम दिन शनिबार काठमाडौं रोयल्स र पोखरा पल्टनबीच पहिलो खेल हुनेछ । अन्तिम खेलमा चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्