साफ च्याम्पियनसिप आयोजना गर्न नेपालाई प्रस्ताव



काठमाडौं । नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न आधिकारिक प्रस्ताव आएको छ । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरु सहमति भइसकेको छ।

त्यसका लागि आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । शुक्रबार बसेको साफको जुम बैठकमा साफ च्याम्पियनसिप अक्टोबरमा गर्ने सहमति भएको थियो । तर आयोजकको विषयमा टुंगो लाग्न सकेको थिएन । यसअघि बंगलादेशले नै साफ आयोजना गर्ने भने पनि बढ्दो कोरोना संक्रमणका कारण आयोजना गर्न नसक्ने जानकारी दिएको थियो ।

त्यसपछि साफले नेपाल, भारत र माल्दिभ्सले साफ आयोजनामा इच्छा देखाएको र अगष्ट पहिलो साता आयोजकको टुंगो लाग्ने जनाएको थियो।साफ महासचिव अनवरुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई साफ च्याम्पियन आयोजनाको प्रस्ताव पठाएको एन्फाले जनाएको छ। एन्फा महासचिव तुलाधरले अब एन्फाले साफ च्याम्पियनसिका लागि विस्तृत प्रस्ताव बनाएर स्वीकृतिका लागि साफमा पठाउने बताएका छन्।

एन्फाको प्रस्तावलाई अध्ययन गरेर साफ आयोजनाको अन्तिम निर्णय भने साफ अध्यक्ष र साफ कार्यसमितिले नै गर्नेले एन्फाले बताएको छ।साफ च्याम्पियनसिपमा यस पटक ५ टिमले मात्र खेल्ने लगभग पक्का छ । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेकाले साफ खेल्ने छैन।

यस्तै भुटानले कोभिड–१९ का कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण सहभागिता जनाउने छैन । अब नेपालसँगै बंगलादेश, भारत, माल्दिभ्स र श्रीलंकाले मात्र साफमा सहभागिता जनाउनेछन्।नेपालमा यसअघि सन् १९९७ र २०१३ मा साफ च्याम्पियनसिप आयोजना भएको थियो । नेपाल अहिलेसम्म साफको फाइनल पुग्न सकेको छैन ।

यसपटक फाइनल पुग्दै उपाधि जित्ने लक्ष्य राखेको नेपालले बन्द प्रशिक्षण शुरु गरिसकेको छ ।तर आइतबार नेपालका मुख्य प्रशिक्षक अबुदुल्लाह अलमुताइरीले भने राजीनामा दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्