तीन लाख बिरुवा रोपिने लक्ष्यसहित हरित अभियान



जलेश्वर : साउने झरीबीच महोत्तरीका उत्तरवर्ती तीन स्थानीय तहमा हरित अभियान प्रारम्भ भएको छ । जिल्लाका गौशाला, भङ्गहा र बर्दिबास नगरपालिका क्षेत्रमा तीन महिनाभित्र तीन लाख बिरुवा रोपिने लक्ष्यसहित हरित अभियान थालिएको हो ।

तीनवटै स्थानीय तहका नदीउकास, पर्ति र अन्य सार्वजनिक जग्गा छनौट गर्दै रोपणको काम थालिएको हो । पहिलोचरणमा एक हजार २०० बिघा यस्तो जग्गामा वृक्षरोपण कार्य सम्पन्न गरिने छ । अभियानमा स्थानीय तह, राजनीतिक दल, सामुदायिक संस्था र आम सर्वसाधारण सरिक छन् । वन, वातावरण र चुरे संरक्षणका लागि ‘हरित अभियान’ सहयोगी हुने यी क्षेत्रमा कार्यरत सामाजिक संस्था साुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले बताए । पछिल्ला तीन दिनभित्र यो अभियानअन्तर्गत १० हजारभन्दा बढी बिरुवा रोपिएका डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । “स्थानीय तहले संरक्षणको जिम्मेवारीसहित बिरुवा माग गरेपछि हामीले उपलव्ध गराउँदै आएका छौं”, कार्यालय प्रमुख विनोदकुमार सिंहले भने, “जिल्लाका उत्तरवर्ती तीन स्थानीय तहमा अभियानबारे बढेको उत्साह प्रशंसनीय छ ।”

हरित अभियान थालिनु अघि नै बर्दिबास नगरपालिकाले गत असार मसान्तभित्रै ३० हजार र साउन पहिलो सातामा पाँच हजार गरी ३५ हजार बिरुवा यसैपालि रोपी सकेको छ । “हामीले हेरालु प्रवन्धसहित रोपण अभियान थालेका हौं” नगरप्रमुख बिदुरकुमार कार्कीले भने, “साउनभित्रै ५० हजारभन्दा बढी नयाँ बिरुवा बर्दिबास नगरक्षेत्रभित्र रोपिने छन् ।” पछिल्लो अभियानमा फलफूलका बिरुवा बाक्लै रोपिएका छन् । आँप, लिच्ची, कटहर, अम्बा र मेवासहितका फलका बिरुवा संरक्षणमा बगर बगैंचाका किसानले जिम्मेवारी लिएका छन् । यसबाहेक तटवन्धको कान्ला, बगर र खोल्सीहरुमा माटो समात्ने प्रजातिका बाँस बाक्लै लगाइएको गौशालाका उपप्रमुख आशा लामाले बताए ।

पछिल्लो पटक थालिएको हरित अभियानअन्तर्गत भङ्गहा–५ स्थित बडहरी नदी उकासक्षेत्र, बर्दिबास–६ र ७ स्थित रातु खोला किनार र गौशाला–१० स्थित मराहा खोला किनारमा अहिले वृक्षरोपण भइरहेको छ । डिभिजन वन कार्यालय महोत्तरी, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र अन्य सङ्घसंस्था पनि यो अभियानमा जोडिएका छन् । तीनवटा पालिकामा छुट्टाछुट्टै नगर स्तरीय हरित अभियान परिचालन समिति गठन गरिएको छ । अब रोपिएका बिरुवाको संरक्षणका लागि आम चासो बढाउन तीनवटै नगरपालिकामा गठित समितिबीच संयुक्त संयन्त्र बनाएर अनुगमन बढाइने डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाको सुदूर उत्तरका तीन स्थानीय तहले बढाएका पहलकदमीलाई जिल्लाव्यापी बनाउन आवश्यक रहेको वातावरणविद्हरुको भनाइ छ । “सबै ठाउँमा सकारात्मक पहलकदमी बढाउन आवश्यक छ” वातावरण र चुरे विषयका ज्ञाता जिल्लाकै भङ्गहा–७ का बासिन्दा डा. विजयकुमार सिंहले भने, “जिल्लाका मध्य र दक्षिणी भेगमा अभियान बढाउन स्थानीय तहले पहलकदमी लिउmन् ।”

प्रतिक्रिया दिनुहोस्