चितुवाको आक्रमणबाट पीडित परिवारलाई क्षतिपूर्ति



तनहुँ : चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई १६ लाखभन्दा बढी राहत रकम वितरण गरिएको छ । आर्थिक वर्ष ०७७/७८ को अवधिमा तनहुँ जिल्लाका विभिन्न भागमा चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई डिभिजन वन कार्यालय तनहुँले रु १६ लाख ५९ हजार १०४ राहत रकम वितरण गरेको हो ।

गत आवमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो । शुक्लागण्डकी नगरपालिका–२ मसारका ११ महिनाका बालक नारायण रानाको चितुवाको आक्रमणबाट मृत्यु भएपछि कार्यालयले पीडित परिवारलाई रु १० लाख उपलब्ध गराएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका, २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।

त्यस्तै उक्त अवधिमा जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट गाई, भैँसी, सुँगुररबङ्गुर, बाख्रा÷भेडाको मृत्यु भएको थियो । क्षतिको मूल्याङ्कन गरी कार्यालयले पीडितलाई राहत वितरण गरेको छ । रु २१ लाख ८६ हजार ७०४ को क्षति मूल्याङ्कन गरिएकामा रु १६ लाख ५९ हजार १०४ वितरण गरिएको कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । चितुवाको आक्रमणबाट तीन गाई मृत्युबापत रु १८ हजार, एक भैँसी मृत्युबापत रु पाँच हजार, चार सुँगुर÷बङ्गुर मृत्युबापत रु २६ हजार र ५९ बाख्रारभेडा मृत्युबापत रु चार लाख राहत प्रदान गरिएको छ । त्यस्तै चितुवाको आक्रमणबाट तीन जना घाइते भएकामा रु दुई लाख १० हजार १०४ राहत दिइएको पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्