अन्य देशमा खोप लगाउन नमाने कारबाही, नेपालमा खोसाखोस कहिलेसम्म ?



काठमाडौँ : विश्वमा अविकसित तथा अल्पविकसित मुलुकका नागरिक कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप कहिले लगाउन पाइन्छ भन्ने बेग्र प्रतिक्षामा छन् । अधिकांश यस्ता मुलुकहरु कसरी खोपको जोहो गर्ने र यो महामारीबाट आफ्ना नागरिकलाई सुरक्षित कसरी राख्ने भन्नेमा चिन्तित देखिन्छन् ।

विकासशील देशको सूचीमा समेटिने नेपालको वर्तमान अवस्था पनि यी नै मुलुकहरुसँग मिल्दोजुल्दो छ । यहाँका ९० प्रतिशतभन्दा बढी नागरिक खोपकै प्रतिक्षमा छन् । जत्तिले लगाए उनीहरुले संघर्ष गुर्नपरेको छ ।

चर्को घाम–पानीमा घन्टौंसम्म उभिनु परेको छ, कतिले सरकारको आलोचना गरे, कतिले बाध्यताले नक्कली कागजातका आधारमा पनि खोप लगाए भने केहीले चाहिँ पहुँचका भरमा आफ्ना नातेदरसमेतलाई खोप दिलाए ।

नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल र जान्सेन एण्ड जोन्सन खोप लगाइएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने देशभर कोभिसिल्ड खोपको पहिलो मात्रा साढे १८ लाखको हाराहारीमा लगाइएको छ भने साढे ४ लाख बढीले दोस्रो मात्राका खोप लगाएका छन् ।

भेरोसेलको कुरा गर्दा देशभर पहिलो मात्र साढे १५ लाखले लगाएका छन् भने दोस्रो मात्रा झन्डै ७ लाखले लगाएका छन् । एक डोज मात्र लगाए पुग्ने जान्सेन खोप हालसम्म २ लाख बढीले लगाएका छन् । तीन करोड बढी जनसंख्या रहेका नेपालमा करिब ३६ लाख नागरिकले मात्र खोप पाउनु अभियान निक्कै सुस्त रहेको पुष्टि हुनु हो । अझ धेरैले त पहिलो डोज मात्र पाएका छन् ।

नेपाल जस्तै अन्य अल्पविकसित देशहरुको अवस्था पनि उस्तै छ । तर, जसलाई हामी धनी र विकसित मुलुक भन्छौँ त्यहाँको कथा बेग्लै छ, रमाइलो छ, खोप पाउन निरन्तर संघर्ष गरिरहेका हाम्रा लागि त अझ अनौठो लाग्ने किसिमका पनि छन् । उनीहरुले खोप लाउनेलाई विभिन्न पुरस्कार तथा उपहार दिने घोषणा तथा नलगाए कारबाही गर्नेसम्मको चेतावनी दिइरहेका छन् ।

अमेरिकाका कतिपय राज्य सरकारले नागरिकलाई खोप लगाउन उत्प्रेरित गर्न आकर्षक योजना र लोभ्याउने पुरस्कारको घोषणा गरेका छन् । क्यालिफोर्निया, कोलोराडो, मेरील्याण्ड, न्यू जर्सी, ओहायो र वेस्ट भर्जिनियासहित केही राज्यहरूले खोप लगाउन प्रोत्साहन कार्यक्रम नै सञ्चालन गरेका छन् । उनीहरूले यस्तो कार्यक्रमले खोप प्रति अनिच्छुक वयस्कहरूलाई खोप लिन प्रोत्साहित गर्छ भन्ने विश्वास लिएका छन् ।

अमेरिकी समाचार संस्था केवल न्यूज नेटवर्क (सीएनएन)का अनुसार त्यहाँ खोप लगाउनेलाई चिठ्ठा मार्फत ट्रक, सिकार खेल्ने राइफल, कलेजको लागि छात्रवृत्ति, र १५ लाख अमेरिकी डलरको ठुलो पुरस्कार जित्ने अवसर समेत उपलब्ध गराइने कुरा सार्वजनिक गरिएको छ ।
दोस्रो नगद पुरस्कारको रूपमा ५ लाख ८८ हजार डलर राखिएको छ भने खोप लाउनेले आजीवन सिकार गर्ने अनुमति पत्र र त्यसको लागि बन्दुक, माछा मार्ने अनुमति पत्र र राज्य पार्कहरूमा छुट्टीको समयमा निःशुल्क घुम्ने अवसर समेत दिएको छ । यी सबै पुरस्कार, उपहार तथा अवसर प्रदान गर्नुको एउटै उद्देश्य हो छिटोभन्दा छिटो सबै नागरिकलाई खोपको दायराभित्र ल्याउने ।

यो त भयो विकसित देशको कुरा । हामीमध्ये कतिलाई लाग्न सक्छ, ‘यी विकसित मुलुकसँग हाम्रो जस्तो अल्पविकसित र भौगोलिक रुपमा पनि सानो मुलुकको के तुलना गर्नु ?’ हो अमेरिका, रुस, चीन, जर्मनी, फ्रान्स र जापान जस्ता विश्वकै शक्तिशाली देशहरुसँग हाम्रो तुलना हुँदैन । तर कोरोना विरुद्धको खोप अभियानमा भने पाकिस्तानले समेत नेपाललाई पछाडी पारेको देखिन्छ । नेपाल जस्तै विकासशील राष्ट्र हो पाकिस्तान । तर त्यहाँ खोप पाउन कुनै संघर्ष गर्नु पर्दैन ।

बरु त्यहाँका प्रान्तीय सरकारले खोप नलगाउने नागरिकलाई कारबाहीको चेतावनी दिएको छ । पाकिस्तानमा कोरोना भाइरसको बढ्दो घटनालाई रोक्न खोप नलगाउनेको सिम कार्ड बन्द गर्ने चेतावनी त्यहाँको सिन्धु प्रान्तीय सरकारले दिएको छ । एक हप्ताको अल्टिमेटम दिँदै खोप नलगाउनेको सिम कार्ड बन्द गर्ने चेतावनी दिएको हो ।

यसैगरी सिन्धुका मुख्यमन्त्री मुराद अलीका अनुसार कोरोनाविरुद्ध खोप नलिएका सरकारी कर्मचारीहरुको तलब समेत रोक्का गरिने छ । अन्य मुलुकले अनेक तरहले नागरिकलाई खोप दिन प्रयास गरिहँदा नेपालमा भने तँछाड्मछाड र खोसाखोसको अवस्था कायमै छ ।

प्रतिक्रिया दिनुहोस्