धरौटी तिर्न नसकेपछि हिरासतकै शौचालयमा आत्महत्या !



जनकपुरधाम : प्रहरी हिरासतमा रहेका एक थुनुवाले हिरासतको शौचालयमा आत्महत्या गरेका छन् । शुक्रबार बिहान करिब साढे ४ बजेतिर थुनुवाले झुण्डिएर आत्महत्या गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

लक्ष्मिनिया गाउँपालिका–२ का ४० वर्षीय पल्टु रविदास शौचालयको भेन्टीलेसनमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन् । आफ्नै भाई विल्टु रविदाससँग घरायसी विवादमा परेर ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा पक्राउ परेका पल्टु आर्थिक अभाव र जेल जाने भएका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम तिर्न नसकेको कारण थुनामा राख्न कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिएको थियो । थुनुवालाई कारागारमा बुझाउने प्रयोजनको लागि हिरासतमा राखिएकै अवस्थामा पल्टुले आफ्नै गञ्जीको पासो बनाई घाँटीमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्