वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टीमा पाकिस्तान विजयी



एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गुएनामा शनिबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रिटायर्ड हर्ट भएका इभिन लेविसले ३५ रन बनाए । कप्तान केइरन पोलार्डले १३ तथा शिम्रन हिटमायरले १७ रन जोड्दा क्रिस गेल १६ रनमा आउट भए ।

पाकिस्तानका शहिन शाह अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । मोहमद रिजवानले ४६ रन जोड्दा फखर जमानले १५ रन बनाए ।

यससँगै रिजवानले एकै वर्षमा सर्वाधिक धेरै टी-ट्वान्टी रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । रिजवानले सन् २०२१ मा ७ सय ५२ रन जोड्दै कीर्तिमान बनाएका हुन् । रिजवानले आयरल्याण्डका पाउल स्ट्रर्लिङको कीर्तिमान तोडेका हुन् ।

पाउलले २०१९ मा ७ सय ४८ रन जोड्दै कीर्तिमान बनाएका थिए । वेस्ट इन्डिजका जासन होल्डरले ४ विकेट लिए । ड्वाने ब्राभोले २ विकेट लिए ।यस जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण नतिजा विहीन सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्