काठमाडौं महानगर निःशुल्क आइसोलेसन र क्वारेन्टिन सञ्चालनको तयारीमा



काठमाडौं : काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या बढिरहेको भन्दै त्यसका लागि आवश्यक तयारी गरेको जनाएको छ।

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। ‘हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौं,’ मेयर शाक्यले भने, ‘हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौं। हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक पर्‍यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु सञ्चालन गर्न सक्छौं।’

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसीसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्नसमेत शाक्यले आग्रह गरेका छन्। पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सिसिएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरे पनि अहिले नभएको उनको आरोप छ।

महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। संघीय सरकारको निर्देशन र मापदण्डअनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपंक्तिमा खटिएका, ज्येष्ठ नागरिकलगायतका लागि खोपको तेस्रो मात्रा पनि कामपाले व्यवस्थापन गरेकाले खोप लगाउन योग्य सबैलाई अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्