एकीकृत समाजवादी संगठन विस्तार अभियानमा



ओखलढुंगा : नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका आठ स्थानीय तहलाई तीन क्लष्टरमा विभाजन गरेर संगठन विस्तारकाे अभियान सुरु गरेकाे छ ।

आठमध्ये खिजीदेम्वा, लिखु र चम्पादेवी एक क्लष्टर, सुनकाेसी, मानेभञ्ज्याङ र माेलुङ दुई क्ल्ष्टर र चिशंखुगढी र सिद्धिचरण नगरपालिका तीन क्लष्टरमा बाँडेर नेताहरूकाे जिम्मेवारी ताेकिएकाे जिल्ला अध्यक्ष हशंराज वाग्लेले बताए ।

सचिवालय बैठकबाट अभियान सञ्चालनकाे रणनीति तयार गरिएकाे साे पार्टीले जनाएकाे छ । तीन क्लष्टरमा जिल्लाका पदाधिकारीहरूकाे अगुवाइमा सचिवालय सदस्य र जिल्ला सदस्यहरूकाे जिम्मेवारी ताेकिएकाे छ । माघभरिमा अधिकांश वडाहरूकाे कमिटी निर्माण गरिसक्ने लक्ष्य राखिएकाे उपसचिव कमल खड्काले बताए ।

यसअघि पहिलाे चरणकाे अभियानमा केही पालिका र वडाहरूकाे कमिटी गठन भइसकेकाे छ । संगठन विस्तारका लागि कार्यकर्ता तहमा माग भए पनि नेताहरू पुग्न नसकेकाे गुनासाेलाई ध्यानमा राखेर जिल्ला अध्यक्ष वाग्ले, केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराई र केन्द्रीय सदस्य निर्मला श्रेष्ठकाे टाेली आवश्यकता र मागका आधारमा वडा तहमा पुग्ने गरी जिम्मेवारी ताेकिएकाे छ ।

एकीकृत समाजवादीकाे पूर्ण बैठक फागुनमा बाेलाइएकाे जिल्ला इञ्चार्ज भट्टराईले जनाए ।

प्रतिक्रिया दिनुहोस्