पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा



काठमाडौं । रुपेश केसी र ओलावाले अफिजको गोलमा मनाङ–मर्स्याङ्दी क्लबले आइतबार चिर प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै आहा–रारा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
मनाङले फाइनल प्रवेशका लागि अब त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र थ्री स्टारले माघ ११ गते खेल्नेछन् ।
यसअघि, सशस्त्र प्रहरी बल (एपीएफ)ले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
पोखरा रंगशालामा मनाङले ६५औँ मिनेटमा रुपेश केसीको गोलबाट अग्रता लिएको थियो । रुपेशले अफिज ओलावालेको पासमा गोल गरेका थिए ।
मनाङले ६८औँ मिनेटमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । ओलावालेको प्रहारलाई पुलिसका गोलकिपरले बचाइदिएका थिए । रिबाउन्ड प्राप्त बललाई आलावाले विमल रानालाई पास दिएका थिए । तर, विमलले पनि अवसरको सदुपयोग गर्न सकेनन् ।
खेल सकिन तीन मिनेट बाँकी हुँदा ओलावाले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाएका थिए । ओलावाले विपक्षी दुई रक्षकलाई पन्छाउँदै गोल गरेका गरेका थिए ।
प्रतियोगिताअन्तर्गत सोमबार साविक विजेता संकटा क्लब र मच्छिन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्