रियल फ्रुट जुसमा लागुऔषध बरामद



वीरगन्ज : रियल फ्रुज जुसको बोतलमा प्रतिबन्धित लागुऔषध कोरक्स बरामद भएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ बस्ने वर्ष २६ का सुशील अर्यालले बोकेको एक लिटर रियल फ्रुट जुसको बोतलमा ८ बोतल कोरेक्स फेलापरेको हो।

सीमावर्ती भारतीय सहर रक्सौलबाट अर्यालले किनेका कोरेक्स रियल फ्रुट जुसको डिब्बामा लुकाइछिपाइ वीरगन्ज भित्रिरहेको अवस्थामा भन्सार गेटमै पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा टोलीले भन्सार गेटमा चेकजाँच गर्दा अर्याललाई जुसको बोतलमा लागुऔषध कोरेक्स भेटिएको सशस्त्र प्रहरीका डिएसपी तिलक खड्काले बताए।

‘हातमा जुसको डिब्बा लिएर अर्याल पैदल वीरगन्ज आइरहेका थिए। उनको गतिविधिले शंका लागेपछि नियन्त्रणमा लिई अनुसन्धान गर्दा जुसको बोतलमै ८ बोतल कोरेक्स लुकाएर ल्याएको उनले स्विकारे’, डिएसपी खड्काले बताए। अर्याललाई पर्सा प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ। कोरेक्स रुघाखोकीका लागि अत्यन्त प्रभावकारी औषधि हो।

नेपालमा कोरेक्स प्रतिबन्धित छ। लागुऔषध प्रयोगकर्ताले कोरेक्स लागुऔषधका रुपमा प्रयोग गर्ने गरेकाले यसको बिक्रीवितरणमा रोक लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्