क्यानाडामा कोभिड खोपको विरोधमा प्रर्दशन चर्केपछि प्रधानमन्त्रीले निवास छाडे



अमेरिका । क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी ओटावा दोस्रो दिन पनि ठप्प भएको छ ।
राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन् ।
ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकहरू ट्रक राखेर अवरुद्ध पारेका छन् । ओटावाका मेयर जिम वाट्सनका अनुसार केही प्रदर्शनकारीहरूले एउटा रेस्टुरेन्टका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुव्र्यवहार गरेका छन् । उक्त रेस्टुरेन्टले भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेपछि प्रदर्शनकारीले दुव्र्यवहार गरेका थिए ।
सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले र परिवारका साथ ओटावास्थित आफ्नो घर छाडेका छन् ।
क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरभध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन् । सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको भए पनि प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन् ।
कतिपय प्रदर्शनकारीहरूले उक्त निर्णय हटाइए पनि देशव्यापी रूपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखिरहेका छन् । प्रधानमन्त्री ट्रुडोले यसै साताको सुरुमा एउटा पत्रकार सम्मेलनमा प्रदर्शनकारीहरूलाई ‘सानो सङ्ख्याका अल्पसङ्ख्यक’ भनेका थिए ।
प्रधानमन्त्री ट्रुडोको लिबरल सरकारले ज्यानुअरी १५ तारिखमा खोपसम्बन्धी एउटा आदेश जारी गरेको थियो । त्यसमा खोप नलगाएका क्यानेडियन ट्रक ड्राइभरहरूले दुई देशको सीमा पार गरेपछि अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम लगाइएको छ ।
अमेरिकाले पनि हालै विदेशी ट्रक ड्राइभरहरूले अमेरिका प्रवेश गर्दा खोपको प्रमाण देखाउपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्