कैलालीमा नेकपाले एकताको टुंगो लगायाे : तत्कालीन एमालेलाई ७ र माअाेवादीलाई ६ स्थान



कैलाली : स्थानीय तहमा पार्टी एकता प्रक्रियामा सकस परिरहेका बेला नेकपा कैलालीले भने जिल्लामा पार्टी एकता टुंग्याएको छ । जिल्लास्तरीय कार्यदलले जिल्लाका निर्वाचन क्षेत्र, स्थानीय तह र वडाहरूमा नेतृत्व बाँडफाँट गरेको हो । शनिबार जिल्लास्तरीय कार्यदलको बैठकले एकतापछिको भागबण्डा टुंग्याएको हो ।

 

जिल्लाका १३ वटा स्थानीय तहमध्ये तत्कालीन एमालेलाई ७ र माओवादीलाई ६ स्थानमा नेतृत्व दिने सहमति भएको छ । मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया, भजनी नगरपालिका र गोदावरी नगरपालिकामा तत्कालीन माओवादीले नेतृत्व पाउने गरी सहमति भएको छ ।

 

त्यस्तै धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, चुरे गाउँपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा तत्कालीन एमालेले नेतृत्व लिने सहमति भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा ५ मध्ये ३ क्षेत्रमा तत्कालीन एमाले र २ मा माओवादीले नेतृत्व गर्ने गरी सहमति भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा एमाले र ४ र ५ मा माओवादीले नेतृत्व गर्ने भएका हुन् ।

 

प्रदेशसभाका १० प्रतिनिधिसभा १ को दुवै निर्वाचन क्षेत्रमा तत्कालीन माओवादी, २ को १ मा एमाले २ मा माओवादी, ३ को १ मा माओवादी २ मा एमाले, ४ को दुवैमा एमाले, ५ को १ मा एमाले र २ मा माओवादीले नेतृत्व पाउने भएका छन् । यसैगरी जिल्लाका वडा कमिटीमा ५५ र ४५ को अनुपातमा एकीकरणको सहमति भएको छ । तत्कालीन एमालेले ६८ र माओवादीले ५८ वडामा नेतृत्व गर्नेछन् । 

 

शनिबार कार्यदलको बैठक सकिएपछि बाँडफाँट गरिएका स्थानीय तहको विवरण प्रदेश कमिटीमा पठाइने तत्कालीन एमालेका तर्फबाट कार्यदलका सदस्य रतन थापाले द नेपाल टपलाई जानकारी दिए । ‘बैठकबाट सर्वसम्मत रूपमा भएको भागबण्डालाई प्रदेश कमिटीले अनुमोदन गरेपछि मात्रै गाउँ तथा वडा कमिटीहरूले पूर्णता पाउने छ’, थापाले भने ।

प्रतिक्रिया दिनुहोस्