डा.केसीको माग : मापदण्ड विपरीतका निजी अस्पताल बन्द गरौं



काठमाडौं : डा.गोविन्द केसीले देशभर मापदण्डविना खुलेका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारसँग माग गरेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सात बुँदे पत्र लेख्दै उनले देशभर पूर्वाधार र पर्याप्त जनशक्ति विना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको, यसबाट बिरामी ठगिने, रोग बल्झिने र बिरामीको मृत्यु हुनेसम्मको अवस्था रहेको बताएका छन्।

‘देशभर नै गाउँदेखि शहरसम्म कुनै पूर्वाधार र जनशक्तिको व्यवस्थाविना निजी स्वास्थ्य संस्थाहरु च्याउझैं सञ्चालनमा आएका छन् । त्यसो गर्नु गैरकानुनी मात्र नभई बिरामीहरु ठगिने, रोग बल्झिने, अंगभंग हुने र मृत्युसमेत हुने अवस्था रहेकाले देशका सबै तहका स्वास्थ्य संस्थाहरुको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरुलाई बन्द गराई दोषीलाई कारबाही गरियोस्’ केसीले भनेका छन्।

केसीले जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण गर्न, स्तरोन्नति र गुणस्तर वृद्धि गर्न पनि माग गरेका छन् । त्यस्तै उनले स्वास्थ्य संस्थालाई करारका चिकित्सिकको भरमा काम चलाउने गरिएको भन्दै आवश्यक संख्यामा स्थायी चिकित्सक नियुक्त गर्न पनि माग गरेका छन्।

‘आन्दोलनरत विद्यार्थीहरुको भविष्य अहिले पनि अन्योलमा छ। चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीहरुको गुण्डागर्दी अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारबाही गरियोस्’ केसीले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्