देउवाको गृहजिल्लामा कार्यकर्ता नै असन्तुष्ट, सुरु गरे रिले अनशन



धनगढी । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेता तथा कार्यकर्ताले रिले अनशन सुरु गरेका छन् ।
पक्षपातपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर आफूहरूको सहभागिता बिना जबर्जस्ती वडा अधिवेशन गराइएको भन्दै उनीहरू बिहीबारदेखि रिले अनशनमा बसेका हुन् ।
वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर अनशनमा बस्नुपरेको डडेलधुरा कांग्रेसका उपसभापति करूणाकर भट्टले बताए ।
क्रियाशील विवाद टुंगो लगाउन, सम्पन्न भएको वडा अधिवेशनलाई मान्यता नदिनलगायत माग अघि सारेर जिल्लास्थित पार्टी कार्यालयमा उनीहरू अनशनमा बसेका हुन् ।
जिल्लाबाट पठाइएको क्रियाशील सदस्यहरूको नाम काटेर पार्टी सभापति देउवाको निर्देशनमा केन्द्रबाट नाम थप गरिएको डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्ल, उपसभापति भट्टलगायत पदाधिकारीले आरोप लगाउँदै आएका छन् ।
क्रियाशील सदस्यता वितरणमा विवाद सिर्जना भएपछि विवाद नटुंगिएसम्म जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको थियो । तर, निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्णयलाई अटेर गर्दै डडेल्धुरामा भदौ २५ गते वडा अधिवेशन गरेको थियो ।
यता, जिल्ला सभापति, उपसभापतिलगायत पदाधिकारीले भने वडा अधिवेशन बहिष्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्