मुलुकभरी भारी हिमपात, विभिन्न स्थानका सडक अवरुद्ध



काठमाडौँ : बिहिबार रातिदेखी मुलुकका विभन्न स्थानमा वर्षा र हिमपातका कारण जनजिवन कष्टकर बनेको छ । रातिदेखी परेको वर्षा अहिलेपनि जारी नै छ भने भारी हिमपात पनि भईरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसँगै काठमाण्डौ उपत्यकाका शिवपुरी, फुल्चोकी र चन्द्रागिरिका साथै मकवानपुरको दामन र सिमभञ्ज्याङमा हिउँ परेको हो । हिमपात धेरै भएका क्षेत्रमा यातायात सेवा समेत प्रभावित भएका छन् ।

त्रिभुवन राजपथको सिमभञ्ज्याङ्ग र अघोरमा बाक्लो हिउँ परेपछि हेटौँडा–काठमाण्डौ यातायात बन्द भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । त्रिभुवन राजपथमा यातायात बन्द भए पनि पूर्व-पश्चिम राजमार्ग र भीमफेदी-कुलेखानीतर्फ यातायात सेवा चलिरहेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगायतका ठाउँमा हिमपात हुँदा गाडी चल्न नसकेको यातायात व्यवसायी दोर्जी शेर्पाले बताउनुभयो । त्यस्तै बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, सतबाँझ क्षेत्रमा भएको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् ।

यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपातका कारण हवाई उडान प्रभावित भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ । वर्षा र हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्