कोरोनाविरुद्धको खोप लगाउन नागरिकता चाहिँदैन : स्वास्थ्य मन्त्रालय



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन नागरिकता वा अन्य सरकारी कागजपत्र नचाहिने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता कौशल मिश्रले खोप लगाउन कोही नागरिक नछुटून भनेर बिना कुनै कागजपत्र पनि खोप लगाउन सकिने बताइन्। तर, यसरी खोप लगाउने व्यक्तिलाई सम्बन्धित वडा अध्यक्षले भने पहिचान गरिदिनुपर्नेछ।

‘हामीले स्थानीय तहसँग समन्वय बढाएका छौं। पहिला नागरिकता नभएकाले खोप लगाउन पाएनौं भन्ने आवाज आयो। त्यसैले अहिले कुनै कागजपत्र बिना नि खोप लगाउने व्यवस्था गरेका छौं’ उनले भनिन्, ‘तर, त्यसरी खोप लगाउनेलाई सम्बन्धित वडा अध्यक्षले त्यही बस्ने हो भनेर पहिचान गरिदिनपर्‍यो।’

यस्तै, स्वास्थ्य मन्त्रालयले खोपको व्यवस्थापन गरेर प्रदेश र जिल्लामा पठाउने र, यसरी पठाइने खोप राख्न भण्डारण कक्ष समेत निर्माण भइसकेको उनले बताइन्। मिश्रले हाल देशभर खोप अभाव नभएको समेत बताइन्।

प्रतिक्रिया दिनुहोस्