नेपाललाई असर नपर्ने गरी तटबन्ध निर्माण गर्ने भारतको आश्वासन



काठमाडौँ : भारतले नेपाललाई असर नपर्ने गरी तटबन्ध निर्माण गर्ने आश्वासन दिएको छ । नेपाल-भारत सीमा अधिकारीहरूको आज भएको भर्चुअल बैठकमा भारतले नेपाललाई यस्तो आश्वासन दिएको हो । दार्चुला जिल्ला प्रशासन कार्यालयको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीहरूबीच आज बैठकमा नेपालले सीमा समस्यासहितका चारवटा एजेण्डा भारतसामु राखेको थियो ।

बैठकमा दुई मुलुकको सहमति र अन्तर्राष्ट्रिय मान्यता विपरीत दार्चुला सदरमुकाम खलंगापारी धार्चुला क्षेत्रमा भारतले निर्माण गरिरहेको पक्की तटबन्ध, नेपाल-भारत जोड्ने मोटरेवल पुल, भारतीय बजारमा नेपाली मुद्राको अवमूल्यन र सीमा पुलहरू खोल्ने विषयमा नेपालको एजेन्डा राखिएको दार्चुलाका सीडीओ दीर्घराज उपाध्यायले जानकारी दिएका छन् ।

भारतीय पक्षले भने १४ फेब्रअरीमा हुने विधानसभा निर्वाचनको सीमा सुरक्षा व्यवस्थापन, सीमा समन्वयलगायत विषयमा मुद्दा प्रस्तुत गरेको थियो । दार्चुला सीडीओ उपाध्यायले खंलगा पारी महाकालीको वहाव परिवर्तन हुने गरेर भारतले निर्माण गरिरहेको तटबन्धबारे आफूहरूले कुरा राखेको बताएका छन् । 

आफूहरूले भारतीय तटबन्धको विषयमा सीमा बैठकमा कुरा उठाएको र पिथौरागढ जिल्ला अधिकारीले नेपाललाई असर नपर्ने गरी तटबन्ध निर्माण गर्ने आश्वासन दिएको उपाध्यायले बताएका छन् ।  साथै, महाकाली नदीमा बन्ने मोटरेबल पुलको बारेमा पनि दुई पक्षबीच छलफल भएको उनले जानकारी दिएका छन् । नेपाल र भारतबीच यसै साता महाकाली नगरपालिकाको सुरकाडा क्षेत्रमा दुई मुलुक जोड्ने पुल बनाउनेबारे सम्झौतामा हस्ताक्षर पनि भएको छ । 

बैठकमा भारतीय बजारमा नेपाली मूल्यको अवमूल्यन हुने गरेको विषयमा समेत छलफल भएको जनाइएको छ । साथै बैठकमा नेपाल-भारत जोड्ने सीमा पुल खुल्ने समय बारेमा पनि छलफल भएको उपाध्यायले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्