चक्रपथको बाँकी काम गर्न अध्ययन गर्दै चिनियाँ पक्ष



काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ बनाएको चीनले यसअघि नै कोटेश्वर–कलंकी १० किलोमिटर सडक खण्ड फराकिलो र चिटिक्क बनाइसकेको छ ।
चिनियाँ पक्षले चक्रपथको बाँकी खण्ड पनि यस्तै बनाउन विशेष चासो राखेको छ । चिनियाँ पक्षकै चोसोपछि विस्तृत अध्ययन गरी डिजाइनका लागि चीन फर्केका छन् ।
चिनियाँ पक्षले यसअघि नै कलंकी–महाराजगंज ८ किलोमिटर खण्डको विस्तृत अध्ययन गरेर फर्किसकेका छन् । काठमाडौं चक्रपथ सडक विस्तार योजनाका इन्जिनियर सुमित्रा अधिकारीले चिनीयाँहरू अध्ययन गरेर डिजाइन बनाउनका लागि चीन फर्किसकेको बताइन् ।
‘चिनियाँहरू पछिल्लो पटक एक महिना अघि नेपाल आएका थिए । चक्रपथको बाँकी रहेको सडकको अनुगमन गर्दै फर्किसकेका छन् ।’, उनले भनिन् ।
चिनियाँहरू नेपालको सडकको साइड क्लियर भएको हेर्न आएको योजनाकी इन्जिनियर अधिकारीले बताइन् । उनले भनिन्, ‘सडकको दायाँ–बायाँको भागको खण्ड हामीले क्लियर गरिसकेका थियौँ । उनीहरुले त्यो पनि हेरे । त्यसअनुसार डिजाइनको काम अगाडि बढाउन उनीहरू चीन फर्केका हुन् ।’
कलंकीदेखि महाराजगंजसम्मको सडकको दायाँ–बायाँ खण्डमा रहेको रूख र बिजुलीको पोलहरू हटाउने कार्य सम्पन्न भइसकेको योजनाले जनाएको छ । वनस्थली खण्डमा भने पुरानो पोलहरू रहेको हट्न नसकेको योजनाकी इन्जिनियर अधिकारीले बताइन् ।
त्यहाँ करिव २०० मिटरमा विद्युत्को पोल हट्न बाँकी छ । विद्युत् प्राधिकरणले नयाँ पोल ल्याउन ढिलाइ गर्दा पोल हटाउने कार्य ढिला भएको उनले बताइन् ।
कोटेश्वर–कलंकी खण्ड जस्तै चक्रपथको बाँकी खण्डमा काम गर्न पनि आर्थिक र प्राविधिक सहयोग चिनियाँ पक्षले बेहोर्ने जनाइएको छ । तर, त्यसअघि नेपाल पक्षले भने बाटोमा पर्ने संरचना, बिजुलीको पोल, रूख हटाउनुपर्ने हुन्छ । त्यसअनुसार नेपालले लगभग साइड क्लियर गरिसकेको छ ।
कोटेश्वर–कलंकी जस्तै रफतारमा बन्नुपर्ने चक्रपथको बाँकी खण्डको विस्तार गर्ने चिनियाँ पक्षले तयार पार्ने डिजाइन योजनाले पर्खेको छ । डिजाइनसहित चिनियाँ पक्ष नेपाल नआउँदा योजना अघि बढ्नेमा अन्योल सिर्जना भएको छ ।
सडक साँघुरिकै कारण चक्रपथका बाँकी खण्डमा सवारी साधन जाममा पर्ने अवस्था विद्यमान छ ।
निर्माण थालेको ३ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित विस्तार गर्न लागिएको यस खण्डमा ६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान सडक विभागले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्