अर्घाखाँचीमा घट्दै कोरोना संक्रमित



अर्घाखाँची । अर्घाखाँची जिल्लामा कोरोना संक्रमण हुनेको संख्यामा कमी आएको छ। केही दिनअघि ह्वात्तै बढेको संक्रमण पछिल्ला दिनमा कम हुँदै गएको पछिल्लो पाँच दिनको तथ्यांकले देखाएको छ।

दैनिक २०–२५ जनाका दरले संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या उकालो लागेको अर्घाखाँचीमा माघ १२ गते सक्रिय संक्रमितको संख्या दुई सय २७ पुगेको थियो।

त्यसपछि १८ गतेसम्म संक्रमित र संक्रमण मुक्त हुनेको संख्या उस्तै उस्तै रहे पनि १९ गतेपछि नयाँ संक्रमित हुनेको तुलनामा संक्रमणमुक्त हुने धेरै देखिएका छन्।

आज पनि ९ जना नयाँ संक्रमित थपिँदा संक्रमण मुक्त हुनेको संख्या १६ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए। यससँगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या १ सय ४४ पुगेको जिल्ला छ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँची जिल्लामा हालसम्म ४ हजार ९ सय ४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। हालसम्म अर्घाखाँची जिल्लामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्