रविको २ गोलमा पुलिस विजयी



काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा च्यासल युथ क्लबलाई नेपाल पुलिस क्लबले २–१ को पराजित गरेको छ। रवि पासवानको दुई गोलले पुलिस क्लब विजयी बनाएको हो।

पुलिसको जितमा रविले दुई गोल गर्दा च्यासलका मोसा अबागानाले सान्त्वना गोल गरे। रेलिगेसन जोनमा संघर्षरत च्यासलमाथि लगातार दबाब बनाएको पुलिसका लागि रविले पेनाल्टी बक्स बाहिरबाट सुन्दर गोल गरेका थिए। च्यासलका गोलकिपर अर्पण कार्की अगाडि बढेको अवस्थामा रविले ३७औँ मिनेटमा गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो।

पुलिसविरुद्ध ५३औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै च्यासलका मोसा अबागानाले बराबरी गोल फर्काएका थिए। रुमेश बर्तौलालाई ५२औँ मिनेटमा पुलिसका कप्तान सुमन सुवेदीले पेनाल्टी एरियाभित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो ।

६५औँ मिनेटमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए। सुमन लामाले पेनाल्टी बक्समा दिएको ‘थ्रुु’ बलमा रविले च्यासलका कप्तान विराज महर्जनलाई बिट गर्दै सुन्दर गोल गरे। रविले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले बचाउन सकेनन्। ‘फिफा डे’का कारण बीचमा रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका यो साताबाट सुरु भएको हो। च्यासलका प्रशिक्षक अघिल्लो खेलमा मनाङबिरुद्ध पाएको रातो कार्डका कारण टच लाइनमा उभिन पाएनन्। यस्तै दुई खेल खेलेका कप्तान सन्तोष साहुखल समेत पुलिसबिरुद्ध उपस्थित भएनन्।

च्यासलका १९ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल भएको हो। यसअघि दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्।

यो सँगै नवौँ चरणको खेल समाप्त भएको छ। दशौँ चरणको खेल शुक्रवारबाट सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्