सभापति देउवाले सत्ता र कुर्सीको लोभमा मनलाग्दी गरे : रामचन्द्र पौडेल



चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको अधिवेशनमा धाँधली र मनपरी गरेको आरोप लगाएका छन् । सभापति देउवाले सत्ता र कुर्सीको लोभमा मनलाग्दी गरेको वरिष्ठ नेता पौडेलले आरोप लगाए ।
नेपाली कांग्रेस भरतपुर महानगर समितिले सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले देउवाका कारण कांग्रेसको इज्जत र प्रतिष्ठामा आँच आएको टिप्पणी गरे । देउवाका कारण पार्टी अस्तित्व खतरामा परेको भन्दै सत्ता र कुर्सीको लोभमा मनलाग्दी गरेको बताए । ‘क्रियाशील सदस्यतामा किन यसरी धाधली र मनपरी गर्नुहुन्छ ? आफ्नै गृह जिल्लामा सभापतिले सिङ्गो जिल्ला समितिलाई बाहिर राखेर कसरी वडा अधिवेशन गर्नुभयो ? यही हो तरिका ? यही हो लोकतन्त्र ?’, पौडेलले आक्रोश पोखे, ‘लोकतन्त्रको भाषण ठोक्न पहिला आफू लोकतान्त्रिक हुनुप¥यो नि ।’
देउवाले पार्टी भित्र मनपर्दी गरेर पार्टीलाई ध्वस्त बनाएको आरोप लगाउँदै पौडेलले भने, ‘सत्ता बाहेक केही नदेख्ने पदका लागि जे मन लाग्यो त्यही गरेर पार्टीलाई यो हालतमा पु¥याएका छन् ।’
पार्टीको सभापति र पाँचौं पटक प्रधानमन्त्री हुँदा समेत देउवालाई नपुगेको भन्दै पनि उनले व्यङ्गय गरे । ‘हिजो सानो कांग्रेसको सभापति हुनुहुन्थ्यो, आज सिङ्गो कांग्रेसको सभापति हुनुभएको छ । पाँचौं पटक प्रधानमन्त्री हुनुभयो । अब के चाहियो ?’, पौडेलले भने, ‘यो बेलामा गुटमा होइन सारा कांग्रेसलाई मूल्याङ्कनको भरमा व्यवहार गर्छु मात्र भन्नुहोस् ।’
सभापति देउवाले आफ्नो सत्ताको लागि लोकतन्त्रको उपहास गरेको पनि उनले आरोप लगाए । १३ औं महाधिवेशनमा नेतृत्व छनौटमा गरेको गल्तिका कारण कांग्रेसको गरिमा खस्किएको पौडेलको भनाइ छ ।
उनले आफूले गुटको राजनीति नगरेको दाबी गरे । कांग्रेस आफैँ भित्र लोकतान्त्रिक बन्न नसकेको टिप्पणी गर्दै पार्टीलाई विधि र पद्दतिमा नचलाएपछि पार्टीमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्