मुगु दुर्घटना अपडेट : मृतक सख्या ३२ पुग्यो



मुगु । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुकोे संख्या ३२ पुगेको छ ।
मंगलबार भएको बस दुघटनामा घटनास्थलमै २४ जनाको मृत्यु भएको थियो भने ४ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । त्यस्तै ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा बस दुर्घटना भएको हो । सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो ।
चालकसहित मृत्यु हुनेहरुकोसंख्या ३२ पुगेको प्रहरीले जानकारी गराएको छ । घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेलाई हेलिकप्टर र हवाईजहाजमा राखेर उपचारका लागि नेपालगञ्ज लगिएको थियो । एक बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।
३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए ।
‘मृतक, घाइते र गाडीबाट हाम फालेर वा ओर्लिएर बचेकाहरूको संख्या हेर्ने हो भने गाडीमा ४९ जना सवार रहेको देखिएको छ, यद्यपि घटनास्थलको भिरमा प्रहरीले मानिसको खोजी गरिरहेको छ,’ मेयर शाहीले भने ।
यसैबीच मुगु बस दुर्घटनामा घाइते भएका १५ जनालाई उद्दार गरी नेपालगञ्ज लगिएको छ ।
मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्