महाअभियोग प्रस्तावलाई काउन्टर दिनेबारे छलफल हुँदै



काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावलाई काउन्टर दिनुपर्नेबारे छलफल भइरहेको छ ।

हिजोको सचिवालय बैठकमा पनि चार न्यायाधीशविरुद्ध महाअभियोग लगाएर काउन्टर दिनुपर्ने आवाज उठेको थियो । सर्वोच्च अदालतको न्यायिक प्रक्रियालाई प्रभावित पार्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्नेमा धेरै नेताहरुको जोड रहेको छ ।

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा फैसला गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र मीरा खड्काविरुद्ध महाअभियोग लगाउनुपर्नेमा एमालेभित्र दबाब छ । यसबारे के गर्ने भन्नेबारे निर्णय नभएको र सबै घटनाक्रम बुझेर मात्रै संसदीय दलको बैठकले निर्णय गर्ने बताइएको छ।

हिजोको सचिवालय बैठकपछि एमाले महासचिव शंकर पोखरेलले संसदीय दलले प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्नेबारे महत्त्वपूर्ण निर्णय गर्ने बताएका थिए । सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्