नेपाली विकेटकिपर आसिफ शेखले यसरी बटुले अन्तर्राष्ट्रिय चर्चा



काठमाडौं । नेपाली क्रिकेट टिम यतिबेला ओमानमा छ । टी–२० विश्वकप छनोट खेल्न टिम ओमान गएको छ । प्रतियोगिताअघि नेपालले चार देशीय टी–२० सिरिज खेल्यो । जसमा नेपालको प्रदर्शन त्यति उत्कृष्ट रहन सकेन ।
नेपालले तीन म्याचमध्ये एक मात्र जित्न सक्यो । बाँकी दुई खेलमा उसले पराजय भग्यो । तर, नेपाली क्रिकेट टिमका विकेटकिपर ब्याटर आसिफ शेखले सबैको मन जितिरहेका छन् । उनले देखाएको खेल भावनाले गर्दा उनी अहिले चर्चाको शिखरमा छन् ।
ओमानमा सोमबार सम्पन्न चार देशीय टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा शेखले खेल भावनाको उच्चतम नमूना प्रस्तुत गरेका हुन् । आसिफले देखाएको खेल भावनाको क्रिकेट जगतमा तारिफ भएको हो ।


खेलको १९औँ ओभरको दोस्रो बलमा बलमा कमलसिंह ऐरीले मार्क अडेरलाई बलिङ गर्दा उक्त घटना घटेको थियो । जसको भिडियो सामाजिक सञ्जालसहित अन्तर्राष्ट्रिय मिडियामा भाइरल बनेको छ ।
रन लिने क्रममा नन स्ट्राइकमा रहेका एन्डी म्याकब्रायन बल समात्न दौडेका ऐरीसँग ठोकिएर लड्न पुगे । म्याकब्रायन उठेर क्रिजतर्फ जाने प्रयास गर्दा कमलले बल समातेर विकेटकिपर आसिफलाई फाले ।
आसिफले बल समात्दा म्याकब्रायन क्रिजबाट २ मिटर टाढा थिए । तर, आसिफले सहजै हुन सक्ने रन आउट गरेनन् । म्याकब्रायनलाई रन पूरा गर्न दिए । उनले देखाएको उक्त खेल भावनाको अन्तर्राष्ट्रिय सञ्चारमाध्य, क्रिकेटर र सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।
क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि आसिफको प्रशंसा गरेको छ । उसले ट्वीटरमा बुधबार भिडियो अपलोड गर्दै आसिफको प्रशंसा गरेको हो । आईसीसीले लेखेको छ, ‘नेपालका विकेटकिपर आसिफ शेखले देखाएको क्रिकेटको मन छुने क्षण ।’
यस्तै, भारतीय चर्चित क्रिकेट कमेन्टेटर हर्षा भोगले पनि नेपाली क्रिकेट टिम र आसिफ शेखको प्रशंसा गरेका छन् । कमेन्टेटर एन्ड्रयु लियोनार्डले गरेको ट्वीटलाई रि–ट्वीट गर्दै भोगले लेखेका छन्, ‘नेपाली क्रिकेट टिमले यो धेरै राम्रो ग¥यो ।’
अर्का पूर्व वेष्ट इण्डिजका खेलाडी तथा चर्चित कमेन्टेटर इयान बिशपले पनि नेपाली खेलाडीको तारिफ गरेका छन् । उनले पनि लियोनार्डले गरेको भिडियोसहितको ट्वीटलाई रि–ट्वीट गर्दै लब्ली भनेका छन् ।
शेखको प्रशंसा गर्ने न्यूजिल्याण्डका स्टार अलराउन्डर जिमी नीशमले पनि गरेका छन् । उनले आसिफले देखाएको खेल भावनाको भिडियोलाई आफ्नो ट्वीटरमा शेयर गर्दै युवा खेलाडीको हौसला बढाएका छन् ।
ओमान क्रिकेटका क्रिकेट सेवक अभिषेक शेखावतले पोस्ट गरेको शेखको भिडियोलाई नीशमले रि–ट्वीट गर्दै ताली पिटेको इमोजी राख्दै शेयर गरेका हुन् । यसले नीशम नेपाली क्रिकेट टिम र खेलाडीलाई माया गर्छन् भन्ने बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्