पाटे बाघको गणना गर्ने काम अन्तिम चरणमा



काठमाडौं । बाँके-बर्दियामा पाटे बाघको गणना गर्ने काम अन्तिम चरणमा पुगेको छ। बाँकेमा पाटे बाघ गणनाका लागि बिहीबार अन्तिम पटक क्याम्प स्थान्तरण गर्न लागिएको छ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले निकुञ्ज अन्तर्गतको ‘डी’ ब्लकमा बाघ गणनाका लागि आज अन्तिम क्याम्प सार्न लागिएको बताए। ‘आज मलैतिरबाट दाङतिर एउटा क्याम्प सार्दै छन्। उता दाङको घुइँयाबारी र सल्यानबाट सार्दै छन्,’ साहले भने, ‘यता बाँकेको ढकेरीबाट र ओभरीबाट पनि क्याम्प सार्दैछन्।’

अन्तिम ब्लकमा १५ दिन अगाडि राखिएका क्यामेरा त्यहाँबाट फेरि अर्को सात ठाउँमा क्याम्प सारेर अन्तिम चरणको बाघ गणना भइरहेको साहले बताए। उनका अनुसार क्याम्प सार्ने काम आजनै सकिनेछ। भोलिदेखि क्यामेरा लगाउने क्रम सुरू हुने छ।

‘अब कम्तीमा १५ दिन क्यामेरा दिन-रात राखिन्छ,’ उनले भने, ‘क्यामेरा सार्दा लाग्ने समय समेत गरी अबको १८-१९ दिनपछि बाघ गणना कार्य पूरा हुनेछ।’ चौथो अर्थात् डि ब्लकको अन्तिम बाघ गणना कार्य सुरू भएको संरक्षण अधिकृत साहले बताए।

बाघको आक्रमणको त्रासका कारण क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना भइरहेको र आजदेखि अन्तिम क्याम्प सुरू भएको उनले बताए।

बाघ गणना गर्न सात वटा टोलीमा ४२ जना प्राविधिकहरू खटिएका छन्। बुधबारदेखि बाँके निकुञ्ज अन्तर्गतको सी ब्लकमा बाघ गणना कार्य पूरा भएको हुँदा क्याम्प स्थान्तरण भइरहेको हो।

बर्दिया९बाँके राष्ट्रिय निकुञ्जलाई चार वटा ब्लकमा विभाजन गरी पाटे बाघको गणना गत मंसिरदेखि सुरू गरिएको थियो। बाघ गणनाका लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई ‘ए’ र ‘बी’ ब्लकमा विभाजन गरिएको थियो। बर्दियामा गणना सकेर पुसदेखि बाँके क्षेत्रमा गणना सुरू भएको थियो।

त्यस्तै ‘सी’ ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भागलाई समेटिएको छ। ‘डी’ ब्लक भने पूरै बाँके राष्ट्रिय निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्र अन्तर्गतको भू-भाग समेटिएको छ।

बाँके निकुञ्जका संरक्षण अधिकृत साहका अनुसार त्यहाँ दुइटा क्यामेरा चोरी समेत भएका छन्। मध्यवर्ती क्षेत्र खड्गबास क्षेत्रबाट समुदायका मानिसले दुइटा क्यामेरा चोरेर लगेको साहले बताए।

प्रतिक्रिया दिनुहोस्