सत्तारुढ दल विदेशी सहायताको विरोध गर्ने, निर्वाचन आयोग अन्तर्राष्ट्रिय सहायताका लागि दाता गुहार्ने



काठमाडौँ । सत्तारुढ दलहरु विदेशी सहायताको विरोध गर्दै सडक तताइरहेका बेला निर्वाचन आयोग भने निर्वाचनको लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन दातासँग छलफल गरिरहेको छ।

सरकारले २०७९ वैशाख ३० स्थानीय तहको निर्वाचन गर्नको लागि मिति घोषणा गरिसकेको छ। सोही निर्वाचन सम्पन्न गर्न आवश्यक बजेटको जोहो गर्नको लागि आयोगले दातासँग छलफल सुरु गरेको हो।

‘अर्थ मन्त्रालयसँगको सहकार्यमा आगामी स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायताको प्राप्तिका सम्बन्धमा छलफल गर्न यही फागुन ४ गते विकास साझेदार समन्वय बैठक सम्पन्न गरियो,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

प्रवक्ता पौडेलका अनुसार अन्तर्राष्ट्रिय सहायताको प्राप्तिको लागि आयोगले बुधबार काठमाडौंस्थित २० वटा कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरुसँग छलफल गरेको थियो।

बैठकमा दाताहरुलाई आयोगद्वारा पहिचान गरिएका मतदाता शिक्षा, सूचना प्रविधि, भौतिक सामग्री तथा विज्ञ परामर्श सेवा लगायतका सम्भावित सहायताका क्षेत्रहरुको बारेमा जानकारी गराइएको थियो।

छलफलका क्रममा केही विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले उक्त सहायताका क्षेत्रमा आयोगसँग सहकार्य गर्न तयार रहेको जानकारी गराएका थिए।
अयोगले यस्तो बेला सहायताको लागि दातासँग छलफल गरेको छ जतिबेला सत्तारुढ दलहरु नै सडकमा उत्रेर विदेशी सहायताको विरोध गरिरहेका छन्।

५० करोड डलरको अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने कुरामा अहिले सत्तारुढ दल विभाजित भएका छन्।

सत्तारुढ पाँच दलमध्ये अहिले नेपाली कांग्रेस एमसीसीको पक्षमा देखिएको छ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी भने संशोधन नगरी एमसीसी अनुमोदन नगर्ने पक्षमा उभिएका छन्।

विदेशी सहायतालाई लिएर सत्तारुढ दलहरु विभाजित भइरहेका बेला निर्वाचन आयोगले सहायतको लागि दाताहरुसँग छलफलअघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्