संविधानको गलत व्याख्या गरेर मलाई सरकारबाट हटाइयो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक प्रवन्धको गलत व्याख्या गरेर आफूलाई सरकारबाट निकालिएको आरोप लगाएका छन्।

प्रजातन्त्र दिवसको अवरमारमा शुभकामना सन्देश जारी गर्दै ओलीले आफू नेतृत्वको सरकारले देशलाई समृद्ध बनाउन जनप्रिय काम गरिराखेकै समयमा संविधानको गलत व्याख्या गरेर सरकारबाट हटाइएको बताएका हुन्।

मुलुकलाई गरिबीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको भए पनि संविधानको गलत व्याख्या गरेर हटाइएको उनको दाबी छ । उनले आफू सरकारबाट हटेपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानलाई अझ सवल रुपमा अगाडि बढाउन चाहेको पनि उल्लेख गरेका छन्।

जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछुु सन्देशमा भनिएको छ, ‘समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौं।’

प्रतिक्रिया दिनुहोस्