धनगढी मेयर एलपिएलमा हिमालयन र विद्या भूषण विजयी



धनगढी । धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएका दुई खेलमा काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुल र विद्या भूषण गेटा विजयी भएका छन् ।
आइतबारको पहिलो खेलमा काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुलले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनले जित निकाल्यो । टस हारेर व्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको विजयी लक्ष पछ्याएर जवाफी व्याटिङ थालेको शारदाका कुनै पनि व्याट्सम्यान हिमालयनका बलर सामु टिक्न सकेनन् । उसले १७ दशमलव ५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
दोस्रो खेलमा विद्या भूषण पब्लिक स्कुलले आयोजक लिटल फ्लावरलाई ५५ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गर्ने निर्णय गरेको विद्या भूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । १ सय ४४ रनको विजयी लक्ष पछ्याएको लिटल फ्लावरका कुनै पनि व्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । उसले १७ दशमलव ६ ओभरमा अल आउट हुँदै ८८ रन मात्रै बनाउन सक्यो ।
प्रतियोगिता अन्तरगत भोलि सोमबार पहिलो खेलमा एभरेस्ट एकेडेमी र शारदा सरस्वती तथा दोस्रो खेलमा सैनिक आवासीय र हिमालयन ह्वाइट हाउस प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्