हुम्ला दुर्घटना अपडेट : जिप नम्बर पत्ता लाग्याे तर दुई घन्टासम्म फेला परेन



काठमाडौं : हुम्लाको खार्पुनाथमा गाउँपालिकाका उपाध्यक्षसहित १० जना सवार भएकाे भनिएकाे जिप दुर्घटनाकाे दुई घन्टा बित्दा पनि फेला पर्न सकेकाे छैन। 

घटनास्थलमा प्रहरी र सेनाको टोली पुगिसकेकाे र खाेजी भइरहेकाे त्यहाँस्थित हाम्रा संवाददाताले जनाएका छन्। 

हुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार दुर्घटना भएको ठाउँ एकदमै विकट छ। कर्णाली नदीको बहावले खोजी कार्यमा समस्या भएको छ। उनले भने, 'अहिलेसम्म हामीले जिप नै पत्ता लगाउन सकेका छैनौं।'

जिपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाही रहेकाे समाचारकाे समेत पुष्टि भइसकेकाे छैन। जिप सडकबाट कर्णाली नदीमा खसेको र जिपकाे पांग्रा र नदीमा झाेला देखिएकाे भनी खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले द नेपाल टपलाई जानकारी दिएका छन्। 

तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। 

जिप आज दिउँसाे सवा १२ बजे दुर्घटनामा परेकाे जनाइएकाे छ। जिप बाटोबाट सीधै कर्णाली नदीमा खसेको हाे। घटनाबारे थप विवरण आउन बाँकी छ।

 

याे पनि पढनुस् : हुम्ला दुर्घटना अपडेट : नदीमा जिपकाे पांग्रा र झाेला देखियाे

                       हुम्लामा गाउँपालिका उपाध्यक्षलगायत चढेकाे जिप कर्णाली नदीमा खस्याे !

प्रतिक्रिया दिनुहोस्