नेपालसँग क्यानडा ८ विकेटले पराजित



काठमाडौं । नेपाली क्रिकेट टोलीले क्यानडालाई ८ विकेटले पराजित गरेको छ । क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमै पूरा ग¥यो ।
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत सोमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानडा विरुद्ध उत्कृष्ट बलिङ र फिल्डिङ गरेको नेपालले झिनो लक्ष्य सहजै पूरा गरेको हो । योसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
नेपालका लागि सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेलले नट आउट ३७ बलमा ३४ रन जोडे । उनले तीन चौका हिर्काए । यस्तै, दिपेन्द्र सिंह ऐरीले ३१ बलमा ३७ रन जोडे। उनले पनि ३ चौका हिर्काएका थिए । आरिफ शेखले १ चौका र १ छक्काको हिर्काउँदै १६ बलमा १७ रन बनाए । उनी सलमान नजारको बलमा एलिबडब्लुमा मैदानबाट बाहिरिए । कुशल मल्ल १ बल खेलेर शून्यमा आउट भए ।
क्यानडाका लागि कलिम साना र सलमान नजरले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो । क्यानडाका कप्तान नवनीत धालिवालले १४ बलमा १८, रायन पठानले ११ बलमा १४ र डिलन हेलिगरले २२ बलमा २४ रन बनाए ।
क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान सन्दीप लामाछानेले ३, कमलसिंह ऐरीले २, अविनाश बोहोराले २ र कुशल मल्लले १ विकेट लिए । कप्तान लामिछानेले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । लामिछानले क्यानडाका हमजा तारिक, कलीम साना र जुनैद सिद्दिकीलाई आउट गरे ।
कमलसिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । ऐरीले पहिलो ओभरको पाँचौँ बलमा क्यानडाका म्याथ्यू स्पोर्सलाई शून्य रनमा पेभेलिएन फर्काए । ऐरीले फ्यालेको बल छक्का हान्न खोज्दा मिड विकेटमा बसेका कुशल भुर्तेलले क्याच गरे । त्यस्तै, ऐरीले नै अर्को विकेट लिँदै क्यानडाका कप्तान नवनीत धालिवाललाई पनि खेलबाहिर पारिदिएका थिए ।
सन्दीप लामिछानेको कप्तानीमा नेपालका तर्फबाट कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, शरद भेष्वाकर, कमल ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया मैदानमा उत्रिएका थिए ।
विश्वकप छनोट अन्तर्गत तीन खेल जितेको नेपाल सेमिफाइनल नजिक छ । खेलेका तीन खेलमा विजयी भएको नेपाल ६ अंक सहित समुह ‘ए’को शिर्ष स्थानमा छ । तिन खेलमा २ जित र १ हार सहित ओमान दोस्रो स्थानमा छ ।
प्रतियोगिताअन्तर्गत नेपालले यसअघि आयोजक ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्