अधुरा सपना खोज्दै सशस्त्र विद्रोहका कलाकार



जितेन्द्र थापा
दैलेख । २४ चैत २०५७ देशमा माओवादी आन्दोलन सशक्त रूपमा अघि बढिरहेको थियो। तत्कालीन समयमा दैलेखको नौमूले गाउँपालिका– १ द्वारीका सर्वजित थापामगर बालखै थिए। उनले माओवादी भनेको गरिब, निमुखाको पक्षमा बोल्ने मान्छेहरू हुन् भन्ने मात्र सुनेका थिए। उनलाई माओवादी कस्ता हुन्छन् भन्नेसम्म थाहा थिएन।

सर्वजित थापामगर नयाँ कुरा देख्न र सुन्न निकै उत्साहित हुन्थे। माओवादी कहिले देख्न पाइएला, कस्ता होलान् ? भनेर उनको मनमा बला बेलो जिज्ञासा भइरहन्थ्यो । जिज्ञासासँगै मनमा डर पनि उत्तिकै लाग्ने गथ्र्यो । साँझ–बिहान रेडियो सुनिरहन्थे उनी । माओवादीले सेनालाई र सेनाले माओवादीलाई मारेको खबर रेडियोले बेलाबेला सुनाइरहन्थ्यो । ‘आज यो ठाउँमा यतिको मृत्यु भयो, उतिको मृत्यु भयो! भनेर बेलाबेला सुनाइरहन्थ्यो। रेडियोमा उक्त घटना सुन्नासाथ थापामगरलाई विश्वास लाग्दैनथ्यो । त्यसबेला सोच्थे उनी– यसरी एकअर्कालाई किन मार्छन् होला ?

रेडियोमा समाचार सुन्दा कुनै फिलिमको कथा सुनेजस्तै लाग्थ्यो । सानै उमेर भएकाले त्यति विश्वास लाग्दैनथ्यो उनलाई । ‘कहीँ पनि मान्छेले मान्छेलाई मार्छ होला र ?’ भनेर सोच्थे । सर्वजितको कल्पना केही दिनलाई मात्र भयो । २८ चैत २०५७ को कुरा थियो । सर्वजित घरमा खाना खाएर नुवाइधुवाइ गर्न साथीहरूसँग खोलामा गएका थिए । खोलामा लुगा धुँदै गर्दा एकाएक एक जना दिदीले उनलाई मानिसहरूको लस्कर लागेको ठाउँमा देखाइन्। पारि डाँडातिर हेर्दा माओवादीको लावा लस्कर लागेको थियो। २४ चैतका दिन नौमूले प्रहरी चौकी आक्रमण गर्ने योजना रहेको गाइँगुइँ सुनेका थिए। त्यो साँझ नै मगर संघको आयोजनामा सांस्कृतिक कार्यक्रम थियो । सर्वजित सोही कार्यक्रममा गएका थिए। कार्यक्रम गरिएकै बेला राति नै माओवादीले प्रहरी चौकीमा हमला गरिसकेका थिए ।

राति थापा वारि आएर हेर्थे । रातभर निद्रा लागेन उनलाई । बिहान हेर्दा चौकी हेरिसक्नु थिएन, घटनास्थल दर्दनाक थियो। एक दिन सर्वजित विद्यालय पढ्न जाँदै थिए। पढ्न जाने बेलामा उनको भेट राजु ‘कमरेड’सँग भयो । माओवादी भनेको थाहा नपाएका सर्वजितलाई ‘कमरेड’ राजुले माओवादी भनेको के हो भनेर बुझाए । राजु ‘कमरेड’को सल्लाहले सर्वजितलाई माओवादीप्रति सकारात्मक बनायो। त्यसको भोलिपल्ट दैलेखको चामुण्डामा सांस्कृतिक कार्यक्रममा पुगे । २८ वैशाख २०५७ मा नौमूले हाइस्कुलदेखि केही छात्रछात्राहरूसँगै उनी पनि उक्त सांस्कृतिक कार्यक्रमतर्फ लागे । चामुण्डा सांस्कृति कार्यक्रम सकेर घर फर्किने क्रममा ‘तिमीहरू मओवादीको कार्यक्रममा गएको खबर गाउँमा थाहा पाएपछि तिमीहरूलााई सेनाले मार्ला, यतैबाट माओवादीमा हिँड, सुरक्षित हुन्छौ’ भनेर माओवादीका केही नेताहरूले तर्साए।

नौमूले हाइस्कुलबाट आएकाजति घर फर्के। घर नजानेमा उक्त हाइस्कुलका पहिलो विद्यार्थी थिए सर्वजित। बाल्यकालमा नै सर्वजितको कलाकारितामा लाग्ने ठूलो इच्छा थियो । पछि नभन्दै उनी माओवादीको सांस्कृतिक कार्यक्रममा पुगे । माओवादी कार्यकर्ताले सेनाले मार्छन् भन्दा उनी कत्ति पनि डराएनन् । माओवादीले भनेको कुरामा न उनी डराए, न त घर जान नमानेका थिए । उनी घर नजानुको एउटै उद्देश्य थियो– कलाकार बन्ने सपना । कलाकार बन्ने सपनाले नै उनलाई माओवादी बनाएको थियो । त्यही क्रममा चामुण्डामा पार्टीको कार्यक्रम सकेर ठाटीकाँध, दुल्लु, डुङ्गेश्वर, गुराँसे हुँदै सुर्खेत झरे । सुर्खेत पुगेर नयाँ छलाङ अभियानका सहकामाण्डर भएर जुम्ला पुगेको उनी बताउँछन्।

आँखैअघि आक्रमणमा साथीको निधन
सुर्खेत पुगेर नयाँ छलाङ अभियानअन्र्तगत थापा सहकमाण्डरको जिम्मेवारी लिएर हुम्ला पुगे । जुम्ला पुगेर नयाँ छलाङ अभियान सफल पारेर उनको टोली सुर्खेत फर्किंदै थियो।

दैलेखबाट जुम्लाको तोट्ला र कालीकोटको पाथर खोलाबीचमा बास भयो । साँझ सबै जना माओवादी पाल टाँगेर सुतिरहेका थिए । उनीहरू सुतेकै अवस्थामा बिहान सेना आएर ओछ्यानमै गोलाबारी गर्न थाल्यो । ‘सबै जना भाग्न सफल भइसकेका थियौँ । हामी सबै टोली खोलादेखि सेनालाई छलेर उकालो लाग्यौँ । २ जना साथीहरू ठाडो बाटो लाग्दा सेनाहरू पनि उतै गए’, उनी भन्छन्, ‘एक जनालाई गाली हानेर मार्‍यो । एक जना पानीमा हाम फालेर बाँच्न सफल हुनुभएको थियो ।’

रेडियो यात्रा
२०६० सालमा जाजरकोटको लामिडाँडामा खटाइए उनी । कात्तिकको महिना थियो । पश्चिम सामना परिवारमा पनि गए थापा । माइला लामालगायतले थापालाई चौधरी बस्तीमा खटाइदिए ।

त्यहाँ बस्न मनले मानेको थिएन तैपनि केही दिन बसे । चौधरी बस्तीमा खटाइएका सर्वजितको सानैमा रेडियोमा बोल्ने धोको थियो । सानैमा कलाकार बन्ने, सञ्चारकर्मी बन्ने धोको अब पूरा हुने भयो । २०६५ सालमा रेडियो ‘जनआवाज’मा सञ्चारकर्मीका रूपमा काम गर्ने अवसर पाए उनले। जनआवाजमा प्रवेशपछि उनको आवाज गाउँबस्तीमा निकै तरङ्गित बन्यो । गाउँबस्तीका कुना कन्दरा गुन्जिए उनको आवाजमा । रेडियोमा प्रवेशपछि ‘सङ्गीत सन्देश’ कार्यक्रम चलाए । त्यस कार्यक्रमबाट उनी निकै परिचित बने । उनको चर्चा दैनिक चुलिँदै गयो ।

‘सङ्गीत सन्देश’सँगै कार्यक्रम ‘वनपाखा’ पनि सञ्चालन गरे । कार्यक्रम ‘वनपाखा’ सञ्चालन गरेपश्चात् उनी निकै चर्चित बने। उनको कार्यक्रमबाट प्रभावित भएर उनलाई भेट्नका लागि समूह बनाएर आउन थाले । २०६५ देखि २०६८ सालसम्म काम गरेर उनले रेडियो छाड्ने निधो गरे ।

जीवन धान्ने बहानाः विदेश यात्रा
२०६५ देखि २०६८ सालसम्म रेडियोमा काम गरेर रेडियो यात्राबाट सपना पूरा नहुने देखेपछि जीवन जिउने मेसो खोज्दै परदेश जाने निर्णय गरे ।अन्ततः १४ भदौ २०६९ मा उनी परदेश हिँडे । देशले कुनै सुरक्षा नदिने निष्कर्षमा पुगेर विदेशको कुनै कम्पनीको सुरक्षा दिन ‘सेक्युरिटी गार्ड’ परदेश हिँडेका उनलाई परदेशमा पनि भाग्यले ठग्यो । सेक्युरिटी गार्ड भनेर लगिएका उनलाई लेबरको काममा पठाइदियो ।

सेक्युरिटीको काम गर्न गएका उनलाई लेबर काम गर्न त्यति मन लागेन । अन्ततः घर फर्किने निर्णय गरे । विदेशमा यति धेरै पसिना बगाउनुभन्दा नेपालमै पसिना बगाउँछु भनेर उनी २०७० सालमा नेपाल फर्के । नेपाल फर्केर पनि २०७० सालदेखि दैलेखको रेडियो ध्रुवतारा एफएममा कार्यक्रम लोक गुञ्जनमार्फत दैलेखीको मन–मुटुमा बस्न सफल भएका सञ्चारकर्मीका रूपमा दैलेखमा परिचित थिए । अहिले आफ्नै टेलर खोलेर जिन्दगी चलाउँदै आएका छन् ।
टुटेन सङ्गीतयात्रा
‘समरका यात्रीहरू झुकेनन् जेलनेलमा’ सर्वजित थापामगर, माया बोहोरालगायतको आवाजमा रहेको उल्लिखित गीतको शब्द रचना देवीराम देवकोटा (असीम)ले गरेका थिए । लय सङ्कलन पुष्पराज चौधरी (विशाल)ले गरेका थिए, जो सशस्त्र युद्धका क्रममा मारिएका थिए । सशस्त्र विद्रोहको पेचिलो समय थियो।

८ मंसिर २०५८ मा तत्कालीन जनमुक्ति सेनाले दाङको घोराहीमा तत्कालीन शाही सेनाको ब्यारेकमा भीषण फौजी आक्रमण गरेको थियो । पहिलो पटक सेनासँग लडाइँ गर्न सुरु गरेको थियो । त्यही तुफानी समयमा विभिन्न ठाउँबाट गिरफ्तार परी सुर्खेत जेलमा रहेका १५ जना राजनीतिक आस्थाका बन्दी र १५ जना गैरआस्थाका बन्दी गरी ३० जनाले ३२ फिट लामो सुरुङ खनेर जेल ‘ब्रेक’ गरेका थिए । त्यही परिवेशलाई समेटेर जेल ब्रेकर देवीराम देवकोटाले यो गीत रचना गरेका हुन् । २३ कात्तिक २०५८ देखि सुरुङ खन्न सुरु गरेर २ माघ बिहान साढे १ बजे जेल ब्रेक गरिएको थियो । जेल ब्रेकका मुख्य नेता झक्कबहादुर मल्ल थिए । उनी अहिले नेकपाका केन्द्रीय सदस्य छन् ।

अरू नेताहरूमा विष्णुप्रसाद चौधरी, पुष्पराज चौधरी, विकास गुरुङ, विन्दमान बिष्ट, गणेश भण्डारी, गितका रचनाकार देवीराम देवकोटा, लोकजंग शाही, लोकबहादुर चलाउने, कृष्ण बडुवाल, रामबहादुर रसाइली, गोपाल शर्मा, नवराज खड्का, रवीन्द्र बयक र उपेन्द्र बिक थिए । यी सबै राजनीतिक आस्थाका बन्दी हुन् । अरू १५ जना गैरआस्थाका बन्दी हुन् । उनी सशस्त्र विद्रोहबाट फर्केपछि पनि कलाकारितालाई निरन्तरता दिँदै आएका छन् ।

उनकै आवाजमा अहिले पनि थुप्रै गीतहरू बजारमा आएका छन् । उनकै आवाजमा ‘हे निष्ठुरी भन’, ‘चुहियो मेरो र्‍याल’, ‘तोलीको डाँडा’, ‘विश्वास गर प्रिय’, ‘दैलेखको फूलबारी’, ‘आउँदै छु म ओ प्रिय’ लगायतका गीतहरू बजारमा आएका छन् ।

अनि पार्टीले अलपत्र पार्‍यो
तत्कालीन समयमा पार्टीको भाषण सुन्न भन्दा पनि कलाकारले गाएको गीत सुन्न मानिसहरू जम्मा हुन्थे। पार्टी जन्माउनमा कलाकारको पनि महत्वपूर्ण भूमिका थियो । आज तिनै पार्टी जन्माउने कलाकारलाई नै पार्टीले अलपत्र पारेको थापामगर बताउँछन् ।

विभिन्न सांस्कृतिक कार्यक्रममार्फत जनजनलाई विद्रोहमा लाग्न प्रेरित गर्ने कलाकारहरू भने आज कोही विदेशमा श्रम गर्न बाध्य छन् त कोही स्वदेशमै बेरोजगार, दयनीय जीवन बिताइरहेका छन्। सर्वजितलाई लाग्छ– ज्यानको माया मारेर देश र जनताको मुहार फेर्ने सपना देखेर हिँडेका यी कलाकारले के पाए आखिर ? पटक पटक आफैँले सङ्घर्ष गरेको पार्टी नेकपा (माओवादी केन्द्र) सत्तामा पुगे पनि उनीहरूका लागि कुनै काम नगरेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्