३२ देशद्वारा रुसमाथि प्रतिबन्ध



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । पूर्वी युक्रेनमा छुट्टिएका दुई क्षेत्रहरूलाई मास्कोले स्वतन्त्रताको मान्यता दिँदै आफ्नो सेना पठाएपछि यसलाई रुसी आक्रमणको शुरुआत भन्दै बाइडेनले प्रतिबन्धको घोषणा गरेका हुन् ।
मंगलबार सम्बोधनका क्रममा बाइडेनले लुहान्स्क र डोनेस्कको स्वतन्त्रतालाई मान्यता दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णयको निन्दा गरेका छन् । बाइडेनले घोषणा गरेको नयाँ प्रतिबन्धले दुई ठूला रुसी वित्तीय संस्थाहरूलाई लक्षित गरेको छ । रुसी सैन्य बैंक र एक अर्को ठूलो वित्तीय संस्थाले अब पश्चिमी मुलुकहरुबाट ऋण पाउन नसक्ने गरी प्रतिबन्ध लगाइएको हो ।
युरोपबाटसमेत यी वित्तीय संस्थाहरुलाई ऋण मिल्ने छैन । युरोपियन युनियनका २७ वटै मुलुकहरु रुसी माथिल्लो सदनका ३५१ सदस्य र अन्य संस्थाहरुलाई लक्षित गर्दै प्रतिबन्ध लगाउन तयार भएका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा तीन रुसी अर्बपतिसहित पाँच बैंकको सम्पत्ति रोक्का गरिएको घोषणा गरेका छन् ।

यस्तै क्यानाडा, जापान र अष्ट्रेलियाले पनि यस्तै निर्णय लिएको पुष्टि गरेका छन् । यस्तै जर्मनीले रुससँगको प्रमुख संयुक्त पूर्वाधार नोर्ड २ ग्यास पाइपलाइनको काममासमेत रोक लगाएको छ ।
पछिल्ला दिनहरुमा रुसले युक्रेनी सीमामा आफ्नो स्थिति अझै मजबुत बनाएको र आक्रमणको अन्तिम तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्