एमसीसीमा सत्ताधारी दुई दलले दोहोरो चरित्र देखाए : नीलाम्बर आचार्य



काठमाडौँ । भारतका लागि पूर्व नेपाली राजदूत नीलाम्बर आचार्यले देशमा अहिले देखिएको राजनीतिक संकटको निकासका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिल्नुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका मन्तव्य तथा विचारको अंश समेटिएको पुस्तक ‘समवेत दृष्टि’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले यस्तो भनेका हुन् ।
‘कांग्रेस र एमाले नजिक आएपछि मात्रै देशले निकास पाउँछ । दुई पार्टी मिल्दा मात्रै देशले बाटो देख्छ’, उनले भने, ‘जहिले जहिले यी दुई पार्टीबीच फाटो आउँछ तब तब देशमा संकट आएको छ ।’
उनले यी दुई पार्टीबीच विचार फरक भए पनि प्रतिस्पर्धासहितको समझदारी र सहयोग हुनुपर्नेमा पनि जोड दिएका छन् ।
आचार्यले एमसीसी सम्झौता संसदमा गएपछि सत्तामै बसेर विरोधमा उत्रिएका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको पनि आरोप लगाएका छन् ।
‘कहीँ हाम्रो संसदीय प्रणाली त बिग्रिएको छैन? लोकतन्त्र मास्न सभामुखहरु त आइसकेका छैनन्? सरकारले एउटा कुरा संसदमा ल्याइसकेपछि त्यसको विरुद्धमा सडकमा ढुंगामुढा गर्ने काम गलत हो । सत्तामै रहेका मान्छेले ढुंगामुढा गर्ने र ठूला नेताले वक्तव्यबाजी गर्ने यो लोकतान्त्रिक प्रणालीविरुद्ध हो?’, उनले भने, ‘त्यहीकारण ओलीजीले फेरि चुनावमा गएर त्यसलाई अझै नङ्ग्याउनुपर्ने आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्