जसपा कार्यकारिणी बैठक शुक्रबार



काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टीले एमसीसीबारे आधिकारिक धारणा तय गर्नका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
संसद्मा एमसीसी टेबुल भइसकेको र मत विभाजनका क्रममा पक्ष वा विपक्षमा लाग्नुपर्ने भएपछि पार्टीको आधिकारीक धारणा तय गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।
कार्यकारिणी समिति सदस्य प्रमोद साहका अनुसार अध्यक्ष उपेन्द्र यादवले शुक्रबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन् । बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा बस्नेछ ।
केन्द्रीय कार्यकारिणी समितिमा मुख्यगरी एमसीसीमा पार्टीको धारणा के हुने भन्ने रहेको बताइएको छ । त्यसका अलवा विधान अधिवेशनको मिति तोक्ने, सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा, गठबन्धनमा पार्टीको भूमिकाको समीक्षा र भाबी रणनीति तथा स्थानीय निर्वाचनको तयारीबारे छलफल हुने भनिएको छ ।
पछिल्लो समय संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पक्षले पार्टीबारे सार्वजनिक रूपमा दिँदै आएका अभिव्यक्तिबारे पनि केन्द्रीय कार्यकारिणी समितिमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्