माइतीघरमा उर्लियो जनसागर, गुठी विधेयकविरुद्ध विशाल प्रदर्शन



काठमाडौं : सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक पक्षधरहरुले काठमाडौंको माइतीघरमा विशाल प्रशर्दन गरेका छन् । 

गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पद्या अर्यालले मंगलबार विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् । उनले सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाइने बताएकी थिइन् ।

तर, गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेसँगै आज (बुधबार) विशाल प्रदर्शन गरेका हुन् । त्यसैको खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट राजधानीका विभिन्न स्थानबाट र्याली निकालेर गुठीपक्षधरहरुले प्रदर्शन गरेका हुन् ।

विभिन्न स्थानबाट निस्किएको र्याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट र्याली निकालेका थिए ।

यस्तै केहीबेरमा हुने खबरदारीसभामा विभिन्न व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित भएको छ । गुठी पक्षधरहरु प्रदर्शनका कारण यस क्षेत्रमा  यातायात आवागमन प्रभावित भएको  हो । 

 

प्रतिक्रिया दिनुहोस्