सरकारले चौंथाे मधेश आन्दोलन निम्त्याउन खोजेको सांसद कर्णकाे आरोप



काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले यो सरकारले चौथो मधेश आन्दोलन निम्त्याउन खोजेको हो भन्ने प्रश्न गरेको छ । बुधबार संघीय संसदको बैठकमा राजपाका सांसद तथा सहअध्यक्ष लक्ष्मण लाल कर्णले सरकारप्रति आक्रोश पोख्दै यस्तो प्रश्न गरेका हुन् ।

जनताको ठूलो बलिदानी र त्यागबाट प्राप्त भएको समानुपातिक समावेशितामाथि प्रहार भएको भन्दै लोकसेवा आयोगको विज्ञापन संशोधन गरी पुनः प्रकाशित गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले जनताको हक अधिकार खोस्ने सरकारले यदि सोचेको हो भने त्यस्तो सपना नदेख्नसमेत सचेत गराएका हुन् । उनले आफूहरुलाई फेरि मधेश आन्दोलन गर्न सरकारले बाध्य पारिरहेको जिकिर गरेका छन् ।

‘माइतिघर मण्डलामा मात्र होइन, मधेशका ठाउँ–ठाउँमा लोकसेवा आयोगको विज्ञापनविरुद्ध आन्दोलन सुरु भइसकेको छ,’ सांसद कर्णले भने, ‘गुठी विधेयक जसरी फिर्ता लिइयो त्यसरी नै लोकसेवा आयोगको विज्ञापन फिर्ता लिई परिमार्जन गरेर प्रकाशन गर्नुपर्छ ।’

लाल आयोगको प्रतिवेदनको सन्दर्भमा सांसद कर्णले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन संसदमा कति कराइरहने ? प्रधानमन्त्री, कानूनमन्त्री र सभामुखसमेत आफैले भनेका कुरा पूरा गर्दैनन् ।’

‘लाल आयोगको प्रतिवेदन जनताको प्रतिवेदन हो । जनताले त्यसबारे बुझ्नुपर्छ । किन सरकारले सार्वजनिक गर्न सकिरहेको छैन, के रहस्य छ ?’ प्रश्न तेस्र्याए ।

प्रतिक्रिया दिनुहोस्