यथास्थितिमा एमसीसी स्वीकार्न नसकिने माधव नेपालको अडान कायमै



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीलाई यथास्थितिमा स्वीकार्न नसक्ने अडान दोर्‍याएका छन् । उनले एमसीसी विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्ने बताउँदै सहयोगको नाममा नेपाललाई इण्डो प्यासिपिक रणनीति स्वीकार्न नसक्ने बताएका हुन् ।

शनिबार एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मलेनलाई सम्बाधेन गर्दै अध्यक्ष नेपालले भने, ‘एमसीसीलाई हामी यथास्थितिमा स्वीकार्न गर्न सक्दैनौँ । विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ । यो इण्डो प्यासिफिकसँग जोडिएको छ ।’ उनले नेपाललाई इण्डो प्यासिपिक रणनीतिको अंग बनाउने कागजमा सही गर्ने प्रदीप ज्ञवाली भएको पनि बताए ।

उनले वामपन्थी र लोकतान्त्रिक शक्तिबीच अहिलेसम्म गठबन्धन चलिरहेको भन्दै भोलि के होला भन्ने धेरैलाई लागेको बताए । ‘उनले भने, ‘यो गठबन्धन भत्काउन अपराधपूर्ण र पूर्वाग्रही चिन्तन हावी भइरहेको छ । तर, गठबन्धन तोड्ने पक्षलाई हामी पराजित गरेरै छाड्छौँ ।’ एमसीसीको पक्षमा खुलेआम लागेकाहरु जनताले चिनिसकेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले पार्टीको मूल उद्देश्य समाजवाद स्थापना गर्ने भएको बताउँदै उनले भने, ‘हामी प्रगतिशील मान्यता बोकेर अघि बढिरहेका छौं । समाजवादको स्थापना गर्ने कुरालाई लिएर जनता केन्द्रीत नीति अघि सारेर अघि बढ्ने हो ।’ उनले पिपुल फस्टको मान्यतामा अनुरुप देश र जनताको हितलाई प्रमुख प्राथमिकतामा राखेको बताए ।

उनले पार्टी गाँस, बास, रोजगारीलगायतका समस्या, शोषित, पीडितका समस्यालाई हल गर्न अघि बढेको पनि बताए । उनले भने, ‘स्पष्ट गन्तव्य तय गरेर वैचारिक रुपमा प्रतिबद्ध हुनुपर्छ । निम्नपूँजीवादी अस्थिर चरित्र त्यागेर माक्र्सवादी अडान र दृष्टिकोणमा हामी दृढ हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्