सत्ता गठबन्धन जोगाउने उपाय खोजिरहेका छौँ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन् ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसिसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताएका हुन्।

‘एमसिसीकै कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको छ । त्यसलाई रोक्नुपर्ने अवस्था छ’, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, ‘प्रतिगमनकारी गठबन्धन अगाडि नआओस्, संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाको कसम खाएर बनेको गठबन्धन नटुटोस् भनेर लागिपरेका छौँ ।’

विधानलाई कुल्चेर जनप्रतिनिधिमूलक संस्था विघटन गर्ने कदमलाई प्रतिगमन ठहर गर्दै पाँच राजनीतिक दल मिलेर नयाँ गठबन्धन निर्माण गरिएको बताउँदै उनले संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनेको प्रष्ट पारे ।

‘प्रतिगमनलाई परास्त गरेपछि गठबन्धनमार्फत साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, क्षेत्र र समुदायका जनताका हक अधिकारलाई व्यवस्थित गर्ने प्रयास गर्दैछौँ’, उनले भने, ‘प्रतिगमनलाई परास्त गर्दै प्राप्त गरेको उपलब्धि कहीँ एमसिसी सम्झौताकै कारण गुम्ने त होइन भन्ने स्थिति देखापरेको छ ।’

प्रतिक्रिया दिनुहोस्